Thursday, April 25, 2019

खोलामा विषादी र करेन्ट प्रयोग बढ्दा जलचर संकटमा

प्रकाशित मिति: 2018/12/18

उदयपुर । उदयपुरको स्थानीय खोलानालामा पाउने माछालगायत जलचर लोप हुँदै गएका छन्। खोलामा करेन्ट र विषादी प्रयोग गरी माछा मार्ने र बजार क्षेत्रमा पर्ने खोलाहरुमा प्रदूषण बढ्दै गएपछि स्थानीय जलचर हुँदै गएको हो। नदीमा माछा तथा जलचर हराउँदै गएको स्थानीय बुढापाकाहरु बताउँछन्। अधिकांश खोला तथा नदीमा करेन्ट र विषादी प्रयोग गर्ने क्रम बढेपछि माछा तथा जलचर लोप हुँदै गएको चौदण्डीगढी नगरपालिकाकाको त्रियुगा नदी किनारमा बसोबास गर्दै आएका ६० वर्षीय रुपबहादुर माझीले बताए। ‘नदी तथा खोलामा विषादी, करेन्टका साथै बिस्फोटक पदार्थको सहयोगबाट माछा मार्न थालेपछि माछा लोप हुँदै गएको हो,’ माझीले भने, ‘३० वर्षअघि एक घण्टामा झण्डै चार किलो माछा जालमै मारिन्थ्यो, अहिले दिनभरि जाल हान्दा पनि दुई किलो मार्न सकिँदैन।’ बजारमा पोखरीमा पालेका माछाभन्दा खोलानालामा मारेका माछाको माग बढ्दै गए पनि माछा पाउन छाडेको माझीले बताए। ‘त्रियुगा नदीमा मारेका माछा प्रतिकिलो ४०० रुपैयाँभन्दा बढीमा बिक्री हुन्छ,’ उनले भने, ‘तर माछा नै पाइँदैन।’ नदी तथा खोलामा करेन्टले माछा मर्ने क्रम बढेपछि माछा लोप हुँदै गएको सोही नगरपालिकाका ५५ वर्षीय रचनलाल बोट बताउँछन्। उमेर ‘विषादी हालेर र करेन्ट लगाएर माछा मार्नु कानुन विपरीत हो उनले भने, ‘तर, करेन्ट लगाउनेलाई कसैले पनि रोकछेक गरेको देखिँदैन। अहिले माछा पाउनै छाड्यो।’ फुर्सदको समयमा सरकारी कर्मचारी, व्यापारी तथा विभिन्न संघ संस्थाका कर्मचारीहरु पनि थकान मेटाउन भन्दै ब्याट्री, जेनरेटर लिएर खोला तथा नदीमा गई करेन्ट लगाएर माछा मार्ने नदी किनारका बासिन्दाहरु बताउँछन्। चौदण्डीगढी नगरपालिका–५ का वडा अध्यक्ष देवनारायण चौधरीले त्रियुगा नदीको माछा संरक्षण गर्ने बेला आएको बताए। ‘करेन्ट लागाउने र विषादीको प्रयोग गरेर माछा मार्ने काम रोक्नु पर्छ,’ उनले भने, ‘दिन प्रतिदिन बढ्दै गएको नदी प्रदूषण पनि रोक्ने बेला आएको छ।’ जिल्लाका बरुवा, त्रियुगा, तावा, छौडिया, वैद्यनाथ, यारी, मरुवालगायत खोलामा बिस्फोटक पदार्थ, विषादी र करेन्ट लगाएर माछा मार्ने क्रम बढेको छ। यसले वर्षौंदेखि माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी र मुसहर जातिको पुख्र्यौली पेशासमेत संकटमा परेको छ। ‘पहिला पहिला खोलामा अलिअलि माछा भेटिन्थ्यो,’ त्रियुगा नगरपालिका–३ पुरानो गाईघाटका सेतु सरदारले भने, ‘पछिल्लो समय त माछा पनि देख्न पाइएको छैन।’ अहिलेसम्म माछा र घुंगी मारेर नै परिवार पाल्दै आएका मुसहर परिवारलाई हातमुख जोर्न धौधौ परेको उनको भनाइ छ। सुत्ली, हिले, रौं, वाम, मुङ्ग्रीलगायतका स्थानीय जातका माछाहरू लोप भएका छन्। करेन्ट लगाएर माछा मार्ने क्रममा सर्वसाधरणको ज्यान समेत जाने गरेको प्रहरीको तथ्यांक छ।

 

तपाईंको बिचार