Thursday, June 27, 2019

विपद न्यूनीकरणका लागि अवधि भाषामा पाठ्यक्रम

प्रकाशित मिति: 2018/12/20

बाँके । बाँकेको डुडुवा गाउँपालिका अन्तर्गतका विद्यालयमा स्थानीय अवधि भाषामा विपदसम्वन्धी पाठ्यक्रम लागू हुने भएको छ। विद्यालयमा विपद जोखिम न्यूनीकरणका लागि स्थानीय पाठ्यक्रम तयार पारिएको छ। सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लब र डुडुवा गाउँपालिकाको संयुक्त पहलमा पाठ्यक्रम निर्माण गरिएको हो। नेपाली भाषामा राम इकबाल मण्डल, बद्रेआलम खा गोपीचन्द्र बर्मा र मोहम्मद हुसेन खाको समूहले तयार पारेको पाठ्यक्रमलाई स्थानीय अवधि भाषामा राकेश कुमार मिश्रले अनुवाद गरेका छन्। विपदअन्तर्गत बाढी, आगलागी सर्पदंश, भूकम्प, शितलहर, गर्मी, हुरीबतास, सवारी दुर्घटनाका विषयमा आठवटा पाठ निर्माण गरी अनुवाद गरिएको छ। सो विषयका पाठ शीर्षकलाई विद्यालयका कक्षा एकदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई अध्यापन गराइने छ। अवधि समुदायका बालबालिकाका लागि मातृ भाषामा अध्यापन गराउँदा छिटो, सहज र सरल रुपमा बुझ्नका लागि पाठ्यक्रम तयार पारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। गाउँपालिकामा शिक्षाको अवस्था निकै दयनिय रहेकाले अवधि भाषी समुदायको बाहुल्यता रहेकोले पाठ्यक्रमले महत्वपूर्ण सहयोग गर्ने अध्यक्ष चौधरीले बताए। गाउँपालिकामा रहेका १७ वटा सामुदायिक विद्यालय र १५ वटा मदरसामा सो पाठ्यक्रम लागू गरिने बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक दीपेन्द्र चौधरीले बताए। नेपालको शिक्षा क्षेत्रमा विपद जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा प्रबद्र्धन र सुदृढीकरण परियोजनाअन्तर्गत विद्यालयमा विपद जोखिम न्यूनीकरणका लागि स्थानीय पाठ्यक्रम सम्बन्धी प्रशिक्षण समेत दिइएको छ। पाठ्यक्रम उपलब्धिमूलक हुने शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख गोर्खबहादुर थापाले बताए। उनले स्थानीय अवधि भाषाको पाठ्यक्रमले विद्यालयमा बालबालिकाको नियमितता बढ्ने भन्दै सिकाई उपलब्धि हुने बताए। उनले स्थानीय परिबेशलाई प्राथमिकता दिई विपदका बेला पूर्व तयारीका लागि ज्ञान सीपमा बृद्धि हुने बताए।

 

तपाईंको बिचार