Thursday, April 25, 2019

महासमिति बैठक लम्बिँदा दैनिक पाँच लाख थप खर्च

प्रकाशित मिति: 2018/12/21

काठमाडौं । पार्टी विधानमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा सम्पन्न हुन सकेन । मंगलबार सकिनुपर्ने महासमिति बैठक कहिले सकिन्छ यकिन छैन ।
कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव भने बैठक लम्बिँदा अपेक्षा गरे भन्दा बढी खर्च हुन लागेकोमा चिन्तित छिन् । उनी भन्छिन्, ‘बैठक लम्बिँदा दैनिक पाँच लाख रुपैँया खर्च बढेको छ ।’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा बैठक शनिबारसम्म सक्ने लक्ष्य रहेको बताउँछन् । विधानमा मिल्न बाँकी विषय लगभग टुँगिएको उनको दाबी छ ।
प्रवक्ता शर्माले भनेकै मितिमा बैठक सकियो भने पनि करिब ५० लाख थप खर्च हुने स्थानीय व्यवस्थापन समितिका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए । उनी भन्छन्, ‘केन्द्रीय नेताहरूले सहमति जुटाउन नसक्दा एक करोडमा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा डेढ करोड खर्च लाग्ने देखिएको छ ।’
पार्टीले करिब १६ सय महासमिति सदस्यलाई खाजा, बिहानको खाना र चियाको व्यवस्था गरेको छ । दुई ठाउँमा बैठकस्थल बनाउनु पर्दा पनि थप खर्च लागेको हो ।
बुधबारदेखि बैठकस्थल रामशाहपथस्थित एउटा यगम्बर प्यालेसबाट पार्टी केन्द्रीय कार्यालयमा सरेको छ ।
पार्टीले महासमिति सदस्यबाट जनही एक हजार रुपैयाँ प्रवेश शुल्क संकलन गरेको थियो । प्रवक्ता शर्मा बैठक खर्च पार्टीले नै व्यवहोर्ने र बाहिर कसैसँग चन्दा नउठाएको बताउँछन् ।
पार्टीभन्दा व्यक्ति धनी

यसैवीच, कतिपय नेताहरुले चाहिँ महासमिति बैठकमा पार्टीभन्दा नेता धनी देखिएको गुनासो पोखेका छन् । पार्टीसँग स्रोत छैन भन्दै महासमिति सदस्यहरुलाई खाने बस्ने प्रबन्ध आफैं गर्न भनिए पनि शेरबहादुर देउवा, विजय गच्छदारलगायतका नेताहरुले बेग्लाबेग्लै भोजको आयोजना गरेको र ब्ल्याक लेबलसमेत खुवाएको गुनासो पौडेल पक्षका एक नेताले बताए ।
उनले भने– देउवा र गच्छदारलगायतका नेताहरुले भोज खुवाउन सक्ने तर पार्टीले महासमिति सदस्यहरुलाई गास(बासको प्रवन्ध गर्न चाहिँ नसक्ने  यसले पार्टीभन्दा व्यक्ति धनी भएको संकेत देखिएको छ । नेताहरुको आर्थिक स्रोत के हो भन्ने प्रश्न पनि पार्टीमा उठेको छ ।’
काठमाडौंको जाडोमा बैठक लम्बिएकाले टिक्न नसकेर कैयौं नेताहरु जिल्ला फर्कन थालेको पनि नेताले  बताए ।

 

तपाईंको बिचार