Wednesday, April 24, 2019

अर्गानिक तरकारी उत्पादनमा नेपालसँग सहकार्य गर्ने कतारको प्रस्ताव

प्रकाशित मिति: 2018/12/27

कतारले नेपालसँग हरियो तरकारी र ताजा माछामासु उत्पादनमा सहकार्य गर्ने प्रस्ताव गरेको छ। नेपालमा प्रांगारिक तरकारी र माछामासु उत्पादन गरेर त्यसको बजार कतारलाई बनाउन सकिने बारे नेपाल सरकारसँग कतारले प्रस्ताव गरेको हो।
नेपालमा उत्पादनको प्रसस्त सम्भावना देखेर कतारले नेपालसँग पशुपक्षी पालन र तरकारी उत्पादनका क्षेत्रमा सहकार्य गर्न तयार रहेको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिए।
लगानी र प्रविधिमा कतारले नेपालमा सहयोग गर्ने र त्यसबाट उत्पादित वस्तुलाई कतारसम्म लिन सकिनेबारे सैद्धान्तिक सम्झौता भएको उनले जानकारी दिए।
‘कतारले विशेषगरी नेपालमा अर्गानिक तरकारी उत्पादन गरेर आफ्नो देशमा लिन खोजिरहेको छ’ जिसीले भने,‘त्यसका लागि उनीहरूले प्रविधि र लगानीमा सघाउन तयार देखिएका छन्।’
नेपालले कृषि र पशुपक्षीका क्षेत्रमा विकास भएका नयाँ प्रविधि र सीप भित्र्याउन अन्य विभिन्न मुलुकसँग सम्झौता गरेको सचिव जिसीले जानकारी दिए।
नेपाललाई कृषि प्रविधि र सीपमा सघाउन चीनले सैद्धान्तिक सहमति गरेको छ।
कतारले अहिले वर्षमा मागको ४० प्रतिशत ताजा तरकारी आयात गरिरहेको छ। आगामी २ वर्षमा आत्मनिर्भर हुने लक्ष्य उसले लिएको छ।

तपाईंको बिचार