Friday, April 26, 2019

रोल्पा र बैतडीमा सुनखानी रहेको प्रतिवेदन, पाँच ठाउँमा सुन खोज्न अनुमति

प्रकाशित मिति: 2018/12/28

काठमाडौ । खानी तथा भुगर्भ विभागले आर्थिक वर्ष २०७४/७५ मा पाँचओटा सुनखानीका लागि अनुसन्धान गर्ने अनुमति प्राप्त गरेका छन् । विभागले प्रदेश ३, प्रदेश ५ र कर्णाली प्रदेशमा रहेका खानीहरुको अध्ययन गर्ने अनुमति दिइएको विभागले जनाएको छ । तीमध्ये कर्णाली प्रदेशमा तीनवटा, प्रदेश नम्बर ३ र प्रदेश ५ मा १र१ वटा गरी ५ ओटा खानी अध्ययनको अनुमति दिइएको बताइएको छ । प्रदेश ५ मा भने व्यक्तिलार्इ नै सुनखानीको अध्ययन अनुमति दिइएको बताइएको छ । उक्त प्रदेशमा क्षितिज भण्डारीको नाममा अनुमति दिइएको छ ।
अनुमति दिइएका प्रत्येक व्यक्ति वा कम्पनीले आफ्नो अध्ययनमा भएको प्रगति वार्षिक रुपमा विभागमा बुझाउनुपर्ने प्रावधान छ । बुझाइएको प्रतिवेदनका आधारमा खानी उत्खनन्का लागि अनुमति दिनसक्ने व्यवस्था रहेको विभागका उपमहानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । हालसम्म उत्खननका लागि भने कसैलार्इ पनि अनुमति नदिइएको उपमहानिर्देशक घिमिरेले जानकारी दिए ।
विभागका सूचना अधिकारी कृष्णदेव झाले पनि अध्ययनका प्रतिवेदनहरु विभागमा आएका र आउने क्रममा रहेको भन्दै त्यस्तो प्रतिवेदनमा उल्लेख भएका विषयहरु भने सार्वजनिक गर्न नमिल्ने बताए । विभागसँग सम्भाव्यता अध्ययन र उत्खननका लागि प्रविधि नभएकोले त्यस्ता कार्यका लागि अन्य व्यक्ति तथा कम्पनीहरुलार्इ जिम्मा दिनुपरेको उनको भनार्इ थियो । हालसम्म व्यक्तिगत र संस्थागतरुपले अध्ययन अनुमति दिनसक्ने कानूनी व्यवस्था रहेको झाको भनार्इ थियो । ‘नेपालमा सुन खानी भएको पत्ता लागिसकेको छ,’ उनले भने–‘तर, उत्खनन् भने हुन सकेको छैन ।’ विभागसँग यस्ता खानी अन्वेषण तथा अध्ययन गर्न चाहिने नयाँ तथा नवीन प्रविधि तथा प्राविधिक र परीक्षण गर्ने गतिलो ल्याब तथा अन्य खानीको तुलनामा अन्वेषण लागत समेत बढी लाग्ने भएकाले पनि यस्ता खानीको उत्खनन् हुन नसकेको प्रष्ठ पारे ।खनिज उत्खनन गर्नुअघि विभिन्न चरणमा विस्तृत परीक्षण गर्नुपर्छ । रोल्पाको लुंगी खोला र बैतडीको बांगाबगर लगाएतका ठाँउहरुको चट्टानभित्र सुनखानी भएको देखाएको छ ।
सबै देशले मुलुकका लागि प्राकृतिक स्रोत साधन समृद्धिको पहिलो आधार मानिन्छ । नेपालमा पनि प्रशस्त खानीका सम्भावनाहरु देखिए पनि त्यसको अध्ययन र उत्खनन् हुन नसक्दा नेपालले त्यसबाट फाइदा लिन सकेको छैन । हाल चीनले नेपालका खानीसम्बन्धी अध्ययनका लागि सहयोग गर्न चासो देखाएको छ । गत वर्ष नेपालमा चीनले प्रेटालियम खानी अन्वेषण गरी विभागलार्इ प्रतिवेदन बुझाइसकेको छ ।

 

तपाईंको बिचार