Thursday, June 27, 2019

डिप लभ’ मा परेका देउवा–पौडेल अहिले दिनहुँजसो ‘प्रिती भोज’ मा मस्त

प्रकाशित मिति: 2018/12/29

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन शैलीप्रति जहिल्यै असन्तुष्टि व्यक्त गर्दै ‘काउण्टर’ दिंदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र देउवाबीच महासमिति वैठकको शुरुवातमा हात मिलाउन समेत सकस पर्‍यो ।
तर, महासमिति वैठकको मैजारोतिर आएर देउवा र पौडेलबीचको मनको मैलो एकाएक सफा बनेको देखियो । भर्खरै सकिएको महासमिति वैठकको समापनका बेला पार्टी सभापति शेरबहादुर देउवाले पौडेलसँगको असमझदारी अन्त्य भएको दावी गर्दै भने, ‘हामीहरु डिप लभ’ मा छौं ।’
विगतमा एउटै कार्यक्रममा समेत पूर्व र पश्चिम मुख फर्काएर बस्दै आएका देउवा, पौडेलको ‘डिप लभ’ ले अहिले कांग्रेसजनमा मात्र होइन अन्य दलहरुमा समेत चर्चा पाइरहेको छ । आफूहरु डिप लभमा परेको दावी गरेका देउवा–पौडेलको जोडी अहिले महासमिति वैठकपछि ‘प्रितीभोज’ मा रमाइरहेको देख्न सकिन्छ । यस्तै दृष्य शुक्रबार शंखमुलस्थित एक पार्टी प्यालेसमा देख्न सकिन्थ्यो ।
आफ्नो दाँया–बाँया उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार हुँदाहुँदै पनि सभापति देउवाको मुहारमा प्रसन्नता देखिएको लाग्थेन । जब वरिष्ठ नेता पौडेल पार्टी प्यालेस भित्रिएर देउवा नजिकैको खाली कुर्सीमा बसे, तब एकाएक देउवाको मुहार उज्यालिएर आयो ।
अहिले देउवा–पौडेल विभिन्न ठाउँमा आयोजना गरिने ‘प्रितीभोज’ मा पार्टी निकटका पत्रकारहरुको उपस्थितिमा महासमिति वैठकको समीक्षा र पौडेलसँग परेको ‘डिल लभ’ को बारेमा प्रष्ट्याउन अगाडि सरिरहेका भेटिन्छन् । शंखमुलको ‘प्रितीभोज’ मा पनि महासमिति वैठकको समीक्षा र डिप लभबारे दुबै नेताले परिभाषित गर्न तल्लीन थिए ।
तमाम कार्यकर्ताले उनीहरुलाई महासमिति वैठकस्थलमै मिलेर पार्टीलाई दरिलो बनाउन आग्रह समेत गरेका थिए । तर, दुर्भाग्य देउवा–पौडेलबीच ‘डिप लभ’ परिरहेका बेला अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलासँग भने यी दुबै नेताहरुको दूरी बढ्दै गएको चर्चा चलिरहेको छ ।
यो चर्चालाई बल पुग्ने गरी नेता सिटौलाको अभिव्यक्तिहरु आइरहेका छन् । मंसिर २९ मा महासमिति बैठक उद्घाटन समारोहमा हात मिलाउन सकस मानेका सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच हिजोआज प्रेमी–प्रेमिकाको जस्तो मायामोह बसको भान शंखमुलमा देखियो ।
शुक्रबार शंखमुलको पार्टी प्यालेसको कांग्रेसमा १३ औं महाधिवेशनदेखि सक्रिय ३ गुटमध्ये पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता उपस्थित थिएनन् ।
जमघटमा पत्रकारले १४ औं महाधिवेशन कहिले हुन्छ भन्ने जिज्ञासा राखे । जसमा वरिष्ठ नेता पौडेलले भने, ‘अर्ली महाधिवेशन होइन । त्यसका लागि समय घर्किसक्यो । म त टाइम्ली (समयमै) महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा छु ।’
देउवा–पौडेल डिप लभ’ बाट सशंकित अर्का नेता कृष्णप्रसाद सिटौला भने अहिले शीघ्र महाधिवेशनको कुरा गर्दै हिंडिरहेका छन् । उनले देउवा–पौडेलको ‘लभ ट्रयाजेडी’ हुने उनले ठोकुवा समेत गरेका छन् ।

तपाईंको बिचार