Wednesday, February 20, 2019

चार वर्षमा काँकरभिट्टादेखि निजगढसम्म विद्युतीय रेल

प्रकाशित मिति: 2018/12/31

काठमाडौं । ‘आगामी चार बर्षभित्र काँकरभिट्टादेखि निजगढसम्म विद्युतीय रेल गुडाउने गरी कार्ययोजना बनाइरहेका छौंं’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको घोषणा हो यो । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री महासेठले चार बर्षभित्र ३२० किलोमिटर भन्दा लामो विद्युतीय रेल मार्ग निर्माण गरेर सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
उनले आगामी ३ महिनाभन्दा अघि नै कुर्ता जनकपुर विजलपुराको ३५ किलोमिटर रेलवे लिकमा आफ्नै रेल गुडाउने घोषणा समेत गरे । त्यसका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौता गरेर आफ्नै रेल खरिद गर्न लागिएको पनि उनले जानकारी दिए । ‘रेल किन्न ५० करोड बजेट राखेका छौं, आवश्यक बजेट फेरि आउँछ, भारत सरकारले मूल्य सूची पठाइसकेको छ केही दिनभित्रै खरिद प्रक्रिया नै अघि बढाउँछौं’ मन्त्री महासेठले भने ।
उनले काकडभिट्टादेखि निजगढसम्मको रेलमार्ग निर्माणका लागि दाताहरु समेत तयार भैसकेको दावी पनि गरेका थिए । हाल सरकारले बर्दिबासदेखि लालबन्दीसम्मको ३० किलोमिटर रेलमार्ग आफै निर्माण गरिरहेको छ । ९४५ किलोमिटर लामो मेची महाकाली विद्युतिय रेलमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । यसको ९६ प्रतिशत डीपीआर तयार भैसकेको पनि उनले जानकारी दिए ।
केरुङ–काठमाडौं रेलमार्गको डीपीआर निर्माणको काम आगामी ३ महिनाभित्रै सुरु हुने जानकारी पनि दिए । वीरगञ्ज काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिसकेको बताए । उनले हाल ब्रोडगेजमा अध्ययन भैरहेको अध्ययनलाई अब स्ट्याण्डर्ड गेजमा अघि बढाउनेबारे भारत सरकारसँग छलफल भैसकेको जानकारी पनि दिए ।

 

तपाईंको बिचार