Thursday, June 27, 2019

श्री एयरलाइन्सले ७४ सिट क्षमताको २ जहाज किन्ने, अन्तर्राष्ट्रिय उडानको लागि लाइसेन्स माग

प्रकाशित मिति: 2019/01/02

काठमाडौं । श्री एयरलाइन्सले २ वटा नयाँ जहाज थप्ने भएको छ । एयरलाइन्सले ७६ सिट क्षमताको २ वटा जहाज खरिद गर्न लागेको हो ।

 

४ वटा आन्तरिक उडान गरिरहेको एयरलाइन्सले जहाजको संख्या बढाएर ६ पुर्याउने भएको छ । नयाँ जहाज किन्नका लागि प्रक्रिया अघि बढिसकेको एयरलाइन्सका प्रबन्ध निर्देशक सुधीर मित्तलले बताए ।
नयाँ जहाज खरिदका लागि करिब डेढ अर्ब रुपैंया लगानी हुनेछ । दुबै जहाज नेपालभित्रका उडानमा प्रयोग हुनेछ ।
हाल एयरलाइन्सले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्ज लगायत स्थानमा हवाई सेवा उपलब्ध गराइरहेको छ । नयाँ जहाज ल्याएपछि पोखरा र भरतपुरमा उडान सेवा विस्तार गरिने उनले बताए ।
यसैगरी एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि सरकारसँग अनुमति माग गरेको छ । ‘हाम्रो सेवा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन चाहिरहेका छौं । त्यसमा लागि हामी अन्तर्राष्ट्रिय उडान अनुमति पर्खिरहेका छौं’ प्रबन्ध निर्देशक  मित्तलले भने ।
यस कम्पनीसँग विदेशमा पनि  हेलिकप्टर सेवा सञ्चालन गरेको अनुभव छ । हाल यस कम्पनीसँग ८ वटा हेलिकप्टर रहेको छ ।

 

 

तपाईंको बिचार