Monday, August 19, 2019

चार किलो सुनसहित धादिङ गजुरीबाट तीन जना पक्राउ

प्रकाशित मिति: 2019/01/04

काठमाडौं । काठमाडौं छिराउन लागिएको चार किलो सुनसहित धादिङ्ग गजुरीबाट तीन जना पक्राउ परेका छन् ।
रसुवाको केरुङबाट नेपाल छिराइएको अवैध चार किलो सुनसहित गए राति उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश–३ का प्रहरी प्रमुख डीआईजी दीपक थापाका अनुसार गए राति पौने १० बजे धादिङको गजुरीबाट सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा रसुवा उत्तरगया गाउँपालिका वडानम्बर–३ बस्ने २७ वर्षका संजीत वाइवा, नुवाकोट तारकेश्वर गाउँपालिका ५ का २२ वर्षका सुरेन्द्र तामाङ र तारकेश्वरकै २४ वर्षका विकास तामाङ छन् ।
उनीहरूले मोटरसाइकलमा सुन ल्याउँदै गरको अवस्थामा प्रहरीले बरामद गरेको हो । गल्छीबाट गजुरीतर्फ सुन लिएर आउँदै गरेको सूचनाको आधारमा उनीहरूलाई सुनसहित पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले सुन चीनको केरुङ हुँदै रसुवागढीबाट धादिङ ल्याएको प्रारम्भिक बयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको डीआईजी थापाले रातोपाटीलाई जानकारी दिए । पछिल्लो समय केरुङ्ग नाका हुँदै नेपालमा सुन तस्करी मौलाइरहेको छ ।

तपाईंको बिचार