Wednesday, February 20, 2019

मुआब्जा माग्दै नुवाकोट बन्द, मोटरसाइकल जलाइयो, यात्रु समस्यामा

प्रकाशित मिति: 2019/01/20

नुवाकोट । ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुंगेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आइतबार नुवाकोट बन्द गरेका छन् ।
गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आइतबार आयोजना गरेको नुवाकोट बन्दमा चलाएको भन्दै ढुङ्गेमा क्षति पुर्‍याएको मोटरसाइकल । बन्दको कारण बजार क्षेत्रमा सवारीसाधन, पसल, शैक्षिकसँस्था, उद्योग तथा कलकारखाना बन्द हुँदा जनजीवन प्रभावित भएको छ ।
आयोजनाअन्तर्गत पीपलटार–ढुंगे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडकखण्डमा पर्ने र सो सडकको सीमा निर्धारण विसं २०३४ को राजपत्रमा उल्लेख गरिएको भन्दै मुआब्जा नदिने जनाएपछि प्रभावित बासिन्दाले संघर्षको कार्यक्रमअन्तर्गत जिल्ला बन्द गराएका हुन् ।
मुआब्जापीडित संघर्ष समितिको आयोजनामा भएको बन्दले नुवाकोट र रसुवामा सञ्चालित छोटो तथा लामो दूरीका यातायातका साधन ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । बन्दले बजार क्षेत्र, शैक्षिक संस्था, उद्योग तथा कलकारखानासमेत प्रभावित भएका छन् । बन्दकर्ता बिहानैदेखि सडकमा शान्तिपूर्ण रूपमा विरोध जनाइरहेका छन् ।
चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत बन्द आह्वान गरेको र मागको सुनुवाइ नभए थप संघर्षका कार्यक्रम ल्याउन आफूहरु बाध्य हुने समितिका संयोजक लीलानाथ न्यौपानेले बताए ।
त्रिशूली–ककनी–बालाजु खण्डमा पर्ने पासाङल्यामु राजमार्ग क्षेत्रको दायाँ बायाँ जग्गाको सीमा निर्धारण २०३४ मा सडक विस्तारको क्रममा सडकको पहुँचमा आइसकेको भनेर आयोजनाले मुआब्जा दिन नमल्निे योजना प्रमुख सुवोधकुमार देवकोटाले बताए ।

तपाईंको बिचार