Monday, February 18, 2019

रोकिएन गुराँस फँडानी

प्रकाशित मिति: 2019/01/21

तेह्रथुम । संरक्षित तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रभित्र गैरकानुनी रुपमा रूख कटान र जडीबुटी सङ्कलन भइरहेको छ। वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन। संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गरिरहेका छन्।  विभिन्न चाडपर्व र जाडोका लागि उपभोक्ताले इन्धनको जोहो गर्न धमाधम रुख काटिरहेका छन्। खाना पकाउन र आगो ताप्न सरकारले स्थानीय बासिन्दालाई दाउराको विकल्प नदिएसम्म फँडानी नरोकिने गुफा बजारका होटल व्यवसायी हरि खनाल बताउनुहुन्छ। यहाँ बसोबास गर्ने सर्वसाधारणको इन्धनको स्रोत गुराँसको दाउरा नै हो।  टिएमजे क्षेत्रभित्र गुराँसबाहेक अन्य प्रजातिका वनस्पति साना र पोथ्रा मात्र छन्। ‘गुराँस’को राजधानी भनेर चिनिने यो क्षेत्रको संरक्षणका लागि आएका गैरसरकारी संस्थाहरूले समेत प्रभावकारी काम गर्न नसक्दा गुराँसै नासिने अवस्थामा पुगेको छ। धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुले भरिपूर्ण यो क्षेत्र प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय आकर्षणको केन्द्रको रुपमा विकास भइरहेको छ।    तेह्रथुमको तीनजुरे, संखुवासभाको जलजले र ताप्लेजुङको मिल्के क्षेत्र मिलेर टिएमजे संरक्षित क्षेत्र बनेको छ। यो क्षेत्रलाई तीन जिल्लाको सङ्गमस्थलको रुपमा समेत चिनिन्छ। यसकारण पनि यो क्षेत्रको संरक्षण गर्ने दायित्व तीन वटै जिल्लाका वन कार्यालयहरु, सरोकारवाला र स्थानीयवासीको हो। तर, गुराँसे वन फँडानी भएर गुराँस नै मासिने खतरा भइरहँदा समेत तीन वटै डिभिजन वन कार्यालयहरुले प्रभावकारी कदम चाल्न सकेका छैनन्। सामुदायिक वन उपभोक्ता महासङ्घ तेह्रथुमका अध्यक्ष गणेश सेनले गुराँस वन क्षेत्रको संरक्षणका लागि सक्दो प्रयास गरिरहेको बताए।  टिएमजे क्षेत्रका विभिन्न ठाउँसम्म सडकको पहुँच पुगेपछि अहिले जनसङ्ख्याको चाप समेत बढ्दो छ। यी क्षेत्रमा फैलिएका विभिन्न बजारहरुमा साना–ठूला गरी १०० भन्दा बढी होटल तथा पसलहरु खुलेका छन्। टिएमजे क्षेत्रको रेखदेख गर्ने जिम्मा सरकारीस्तरबाट यी तीनवटै जिल्लाका वन कार्यालयले पाएका भए पनि संरक्षणको प्रयास प्रभावकारी हुन सकेको छैन। टिएमजे क्षेत्रको गुराँसे वन, विविध प्रजातिको कुहिरे वन, जैविक विविधता, जडीबुटी, सिमसार र तालपोखरी, दुर्लभ प्रजातिका चराचुरुङ्गी तथा वन्यजन्तु लगायतको संरक्षण गर्न स्थानीयस्तरमा राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति गठन भएको थियो तर, समिति पनि अहिले निष्क्रिय छ।  सरकारले तत्काल संरक्षण क्षेत्र घोषणा गरेर संरक्षणमुखी कार्यक्रम ल्याउनुपर्थ्यु समितिका संयोजक तथा प्रदेश सांसद लक्ष्मण तिवारी भने, ऊर्जा र इन्धनको वैकल्पिक व्यवस्था गरेर स्वयं स्थानीय बासिन्दालाई संरक्षणमा लगाउनेतर्फ सरकारले ध्यान दिनुपर्छ। पदयात्राका लागि रमणीय यो क्षेत्रमा प्रत्येक वर्ष ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने अनुमानित तथ्याङ्क छ। तिनका लागि पकाइने खानाका लागि इन्धनको प्रमुख स्रोत दाउरा नै हो। बाहै्र महिना चिसो र ठण्डा हुने भएकाले आगो ताप्न समेत दाउरा नै प्रयोगमा ल्याइन्छ। माथिल्लो क्षेत्रमा छुर्पीको व्यवसाय अत्यधिक हुने गरेको र गुराँसको काँचो दाउराले छुर्पी सुकाउँदा राम्रो रङ बस्ने भएकाले पनि गुराँसे वन फँडानी बढेको छ।  नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको छ तर, अहिले गुराँसे वन मासिएर कुल वन क्षेत्रको करिब १५ प्रतिशत मात्रै गुराँस रहेको तथ्याङ्क छ। गुराँसका प्रजातिको अवलोकनकै लागि यहाँ वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन्। समुद्री सतहदेखि एक हजार ७०० मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइमा टिएमजे क्षेत्र फैलिएको छ। यो क्षेत्र तीन जिल्लाका १३ वटा स्थानीय तह अर्थात् साविकका २५ वटा गाविसमा फैलिएको छ।  यहाँका उच्च भागहरुमा चौकी, गुफा, मंगलबारे, चाँगे, सम्दु, साँघु जस्ता साना–ठूला वस्तीहरु रहेका छन्। संरक्षित क्षेत्रको रुपमा तेह्रथुमका मोराहाङ, श्रीजुङ, पौठाक, ओयाक्जुङ, इसिवु, सम्दु, खाम्लालुङ, वसन्तपुर, सुङनाम, सोल्मा, जिरिखिम्ती र आम्बुङ गाउँ तोकिएका छन्। सो क्षेत्रभित्र ताप्लेजुङका हाम्पाङ, चाँगे, ढुङ्गेसाँघु, साँघु, फाकुम्बा र थिङ्लाबु तथा संखुवासभाका तामाफोक, मादीमूलखर्क, नूनढाकी, सिद्धपोखरी, जलजला र सभापोखरी गाउँहरु पर्दछन्।  यो क्षेत्रमा १८ हजार ७८३ घरधुरीमा १ लाख ३ हजार ४६५ जना मानिस बस्ने गरेका डिभिजन वन कार्यालय तेह्रथुमको तथ्याङ्क छ। संरक्षित क्षेत्रको क्षेत्रफल ५८ हजार २३२ हेक्टर रहेको छ। विश्वमा ७०० भन्दा बढी गुराँसका प्रजाति यहाँ पाइन्छन्। ती मध्येको लालीगुराँस फूललाई २०१२ सालदेखि सरकारले राष्ट्रिय फूलको रुपमा मान्यता दिएको हो।  टिएमजे क्षेत्रमा चिराइतो, पाखनवेद, लौठसल्ला, बिख्मा, पाँचऔँले, मजिठो, जटामसी, हडचुर, टिमुर लगायत जडीबुटीहरु पाइने गरेका छन्। तर ती जडीबुटीको संरक्षण र संबद्र्धन हुन पाएको छैन। वनमा उत्पादन हुने यी जडीबुटी कसले टिप्छ रु कसले, कहिले, कता लैजान्छ रु थाहा नै नपाइने गरेको गुफाबजारका व्यवसायी खनालले बताए। वन कार्यालयहरुले यसतर्फ ध्यान दिएका छैनन्, मूल्यवान् जडीबुटीहरु चाहीँ कसले टिप्छ थाहै हुन्न, उनले भने।  अहिले यो क्षेत्रमा चिराइतोको भने व्यावसायिक खेती समेत भइरहेको छ। बाँकी जडीबुटीहरुको खेतीको सम्भावना भए पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन। टिएमजे क्षेत्रमा ३३ वटा भन्दा बढी पोखरी रहेका छन्। तीमध्ये सभापोखरी, गुफापोखरी, लामपोखरी, पाँच पोखरी लगायतका पोखरीहरु चर्चित छन्।  टिएमजेका सिमसार र पहाडलाई मुहान बनाएर यी जिल्लाका लम्बू, पिंगुवा, खोरुंगा, ताङमाया, कोया, सोबुवा, नेरुवा, मैवा, सभा, हेवा, पिलुवालगायतका खोलाहरु बगिरहेका छन्। यो क्षेत्रको संरक्षण गर्न ६९ वटा सामुदायिक वन समूहहरु क्रियाशील छन्।  तीमध्ये ५८ वटा तेह्रथुममा, ८ वटा संखुवासभामा र ३ वटा ताप्लेजुङ जिल्लामा रहेका छन्। संरक्षणको कामलाई अझ प्रभावकारी बनाउन गत वर्ष सामुदायिक वन समूह सञ्जाल गठनको प्रयास भए पनि त्यो प्रभावकारी बन्न सकेको छैन।

 

तपाईंको बिचार