Monday, February 18, 2019

दुर्लभ पाटे बाघ मर्यो

प्रकाशित मिति: 2019/02/09

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जको राप्ती किनारस्थित जर्नेलीघाटमा पानीमा डुबेको अवस्थामा मृत दुर्लभ पाटे बाघ फेला परेको छ।
शुक्रबार करीब १३ वर्षको वयस्क भाले बाघ मृत फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले जानकारी दिए।
मृत बाघको शरीरमा चोटैचोट भेटिएकाले अर्को भाले बाघले आक्रमण गर्दा सो बाघको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको ढकालको भनाइ छ।
राप्ती नदीमा माछा मार्न गएका स्थानीयवासीले मृत बाघलाई देखेपछि निञ्कुजलाई खबर गरेका थिए।
सन् २०१८ मा भएको राष्ट्रिय बाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए। गणना भएयता योसँगै दुईवटा बाघको मृत्यु भइसकेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए।

तपाईंको बिचार