Wednesday, July 24, 2019

चन्दा संकलन गरेर पार्क निर्माण गरिँदै

प्रकाशित मिति: 2019/02/14

इलाम । पर्यटकलाई आकर्षण गर्न इलाममा चन्दा संकलन गरेर पार्क निर्माण सुरु भएको छ । इलाम नगरपालिकाको दुई लाख र स्थानीयबाट संकलित एक लाख ५० हजार गरी तीन लाख ५० हजार रुपैयाँको लागतमा सुकिलुम्बा पार्कको निर्माण कार्य सुरु गरिएको सुकिलुम्बा धार्मिक क्षेत्र विकास समितिका सचिव कमल मैनालीले जानकारी दिनुभयो ।

इलाम बजारबाट करिब ६ किलोमिटरको दूरीमा पर्ने इलाम नगरपालिका वडा नम्बर ९ सुकिलुम्बा डाँडामा सो पार्क निर्माण गर्न थालिएको हो । सुकिलुम्बा डाँडाको करिब ६ रोपनी जमिनमा पार्क निर्माण भइरहेको छ । अहिलेसम्म बगैंचा, फूलबारी, पोखरी माथि पुललगायतका संरचनाको निर्माण सम्पन्न भइसकेका छन् । स्थानियबाट थप डेढ रोपनी जमिन पुनः थपिएकाले बनाइँदै गरेको पार्क सम्पन्न गरेपछि थप संरचना निर्माण कार्य सुरु गर्ने योजना रहेको सचिव मैनालीले बताउनु भयो ।

पार्क परिसरमा शिव मन्दिर र सिद्धदेवी गुफा थान समेत रहेको छ । यो मन्दिरलाई गजुरमुखी मन्दिरको बहिनीका रुपमा लिइन्छ । यस मन्दिरमा हरेक हप्ताको शनिबार र मंगलबार नियमित पूजा र भक्ति गर्न स्थानीय आउने गर्छन् । स्थानीयको चासो बढ्दै गएकाले यस मन्दिरको प्रवर्द्धन गर्नका लागि मन्दिरसम्म पुग्ने सिढी निर्माणमा समेत लगानी गर्न स्थानीय लागेका समितिले जनाएको छ ।

पार्कको निर्माण भएसँगै यो क्षेत्रमा आन्तरिक पर्यटकहरु आउने क्रम बढेको छ । पार्कको निर्माण कार्य थालेपछि भने दैनिक ६० जनाको हाराहारीमा आन्तरिक र बाह्य पर्यटक आउन सुरु गरेको बताइएको छ । पार्क निर्माणाधिन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको माथिल्लो क्षेत्रमा पर्छ । पार्क निर्माण कार्य भने २०७३ सालबाट सुरु गरीएको हो ।

तपाईंको बिचार