Wednesday, July 24, 2019

काठमाडौंमा पुनः रात्रिबस चलाइने, सुरक्षा मुख्य चुनौती

प्रकाशित मिति: 2019/02/16

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र पुनः रात्रिबस चलाउने तयारी थालेको छ ।
यसअघि केही समय सञ्चालन भएर बन्द भएको रात्रिकालीन बस सेवा सञ्चालन गर्नका लागि काठमाडौं  महानगरपालिकाले छलफल शुरु गरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिएका छन् ।
अहिले यातायात व्यवस्था विभाग, निजी बस कम्पनी, साझा यातायात, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायसँग छलफल भइरहेको छ । महानगर भए पनि ८ बजे नै सुनसान सहर जस्तो भएको भन्दै महानगरपालिकालाई रातमा पनि जीवन्त बनाउन रात्रिबस सञ्चालन गर्न लागेको हो । रात्रिबस सञ्चालन गरे केही हदसम्म अहिलेको ट्राफिक जामको समस्या समेत कम हुने अपेक्षा गरिएको छ ।
यातायात व्यवसायीसँग भएको छलफलमा सुरक्षा र वैज्ञानिक भाडादर कायम गरे रात्रिकालीन सेवा दिन सकिने प्रतिक्रिया दिएको डंगोलले जानकारी दिएका छन् । कति बजेसम्म कुनकुन रुटमा चलाउने भन्ने विषयमा अहिले छलफल भइरहेको छ । केही समयभित्रै रात्रिकालीन बस सेवाबारे टुंगो लाग्ने डंगोलले बताए ।
महानगरका अनुसार पहिलो चरणमा ११ बजेसम्म सञ्चालन गर्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ । यसलाई बढाएर बिस्तारै केही घण्टा समय थप्न सकिने निष्कर्ष निकालिएको छ । काठमाडौं महानगरपालिकाभित्र रात्रिबस सञ्चालन गर्न लागिएको हो ।
अहिले सार्वजनिक सवारीसाधन राती १० बजेसम्म सञ्चालन गर्ने शर्तसहित यातायात व्यवस्था विभागले रुट इजाजत दिनेगर्छ । तर व्यवसायीहरूले ८ नबज्दै सवारीसाधन थन्क्याउने गरेका छन् । नाइट बस सेवाका लागि काठमाडौं महानगरपालिकासँग अनौपचारिक छलफल भएको यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार स्थानीय तहले नै रात्रिकालीन बस सेवा सञ्चालन गर्दा उपयुक्त हुन्छ ।
अहिले ८ बजेपछि ट्याक्सीले दोब्बरसम्म लिने गरेका छन् । यो व्यवस्था भाडाका बसहरूका लागि पनि गर्न सकिने उपाध्यायले बताए । रात्रिकालीन सेवा अहिले माग र आवश्यकता भएकाले अब सञ्चालन गर्नुपर्ने विभागको ठहर छ । रातिसम्म बसहरू पाइन्छ भन्ने भएपछि मानिसहरूको चहल पहल बढ्छ ।
यसैगरी, कुनै कम्पनीका २० वटा बसहरू सञ्चालनमा भए दिनमा १९ वटा बस सञ्चालन गरेर रातमा एउटा बस सञ्चालन गर्नुपर्ने नीति विभागले बनाउन सक्छ । रात्रिकालीन भाडाका सवारीसाधन सञ्चालन गर्नका लागि मुख्य चुनौती भनेको सुरक्षा हो । काठमाडौंमा करिब ६ वर्षअघि १४ वटा नाइट बस सञ्चालनमा ल्याइएको भए पनि केही समयपछि बन्द भएको थियो ।
त्यसबेला काठमाडौं महानगरपालिका र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ मिलेर रात्रि बस सञ्चालनमा ल्याएको भए पनि राम्रो व्यवस्थापन हुन नसक्दा बन्द भएको थियो । अहिले आवश्यकता नै बनिसकेकाले दिगो हुने महानगरको दाबी छ ।

तपाईंको बिचार