Tuesday, September 17, 2019

गोरखा दरबार पुनर्निर्माण : १५ महिनासम्म जगमै सीमित

प्रकाशित मिति: 2019/02/17

गोरखा । भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक गोरखा दरबारको पुनर्निर्माणमा ढिलाइ भएको छ ।
पुनर्निर्माणको काम शुरु भएको करीब १५ महिना बितिसक्दा पनि दरबारको जग निर्माण बाहेकको काम अघि बढ्न सकेको छैन् । पुरातत्व विभागले २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनर्निर्माण गर्न ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो ।
पुनर्निर्माणको काम शुरु भएदेखि अहिलेसम्म पटक–पटक कहिले कामदारको अभाव त कहिले सामान दुवानीको समस्यालगायतका कारण देखाउँदै काम रोकिने गरेको छ । ‘अहिलेसम्म दरबारको जगबाहेक अरु काम अघि बढेको छैन’, गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले भने, ‘अब केही दिनमा काठको थाम राख्ने काम शुरु हुन्छ भनेका छन् ।
अहिले दरबारका लागि नापअनुसारको काठ अभाव भएको जानकारी आफूलाई ठेकेदार कम्पनीका प्रतिनिधिले दिएको उनले जानकारी दिए । पुनर्निर्माणका लागि दरबार भत्काउने बेलादेखि नै कामदार आउने र काम छाडेर जाने गरेकाले पनि निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । निमित्त प्रमुख कट्टेलले प्राविधिक अनुगमन प्रभावकारी हुन नसक्दा ठेकेदारले काममा ढिलासुस्ती गरेको बताए ।
ठाउँ अभावका कारण निर्माण सामग्री ल्याएर राख्न समेत समस्या भएको र निर्माण सामग्री कमी हुँदा एकैपटक सबै कामदारलाई काम लगाउन नसकिएकाले ढिलाइ भएको जानकारी ठेकेदार कम्पनीका प्रतिनिधिले दिएको उनले बताए ।
जग निर्माणकै क्रममा दरबारको पूर्वी इसान भागमा राजगद्दीभन्दा केही पछि रहेको ढुङ्गामा लकासी राख्न मिल्ने या नमिल्ने भन्ने अन्योलता रहेको उनले बताए ।
पुरातत्व विभागले २०७६ पुसभित्रमा दरबार पुनर्निर्माण सम्पन्न गर्ने गरी सिवाको जेभी कन्सट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन राजा राम शाहको पालामा विसं १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार करीब रु चार करोड ३७ लाख लागतमा पुनर्निर्माण शुरु गरिएको हो ।
नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपूर्ण ऐतिहासिकस्थल मानिन्छ । गोरखा सदरमुकामभन्दा माथि पहाडको टुप्पामा रहेको यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ भने गोरखकाली मन्दिरको मुनितिर गुफामा गोरखनाथको मन्दिर समेत रहेको छ ।

तपाईंको बिचार