Sunday, September 15, 2019

बिहीबारदेखि किसानको राष्ट्रिय सम्मेलन

प्रकाशित मिति: 2019/02/26

काठमाडौं । ‘साना किसानको समृद्धिः कृषिमा रूपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ आगामी बिहीबार र शुक्रबार काठमाडौंमा साना किसानहरूको सम्मेलन हुने भएको छ । साना किसान लघुवित्त वित्तीय संस्था, नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान सहकारी संस्थाहरूको आयोजनामा हुने सम्मेलनमा एक हजार साना किसान प्रतिनिधि एवं विभिन्न क्षेत्रका राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीतिनिर्माता गरी १ हजार २ सय जना सहभागी हुने आयोजकले जनाएका छन् ।

कार्यक्रमले साना किसानमा उद्यमशीलता विकास गराई कृषि सहकारीमार्फत कृषिक्षेत्रको रूपान्तरण गर्ने अभियान नै साना किसान विकास कार्यक्रमको अबको दिशा हो भन्ने कुरामा आम साना किसानहरूलाई परिचालन गर्न सघाउ पुगोस भन्ने उद्देश्य राखिएको संघका अध्यक्ष खेम पाठकले जानकारी दिए ।

सम्मेलनमा गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षण जस्ता दीगो विकास लक्ष्यले निर्धारण गरेका लक्ष्यहरू हासिल गर्ने सम्बन्धमा २८ वटा कार्यपत्र तथा दशौं भिडियो एवं अनुभवहरू आदानप्रदान हुनेछ । कार्यपत्र तथा प्रस्तुतीमाथि सम्बन्धित विज्ञबाट टिप्पणी र आम सहभागिबाट प्रश्नोत्तरसमेत हुनेछ । यसबाट साना किसानको संस्थागत दिगो विकास, कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि, प्रशोधन, बजारीकरण तथा मूल्य शृङ्खला अभ्यास आदिको सिकाई एवं आगामी कार्य दिशा निर्धारण गर्न सहयोग पुग्ने आयोजकको दाबी छ ।

नेपालमा २०३२ सालदेखि सञ्चालित साना किसान विकास कार्यक्रमले ७० जिल्लामा करिब ९ सय साना किसान कृषि सहकारी संस्थाको स्थापना गरी ८ लाख विपन्न तथा साना किसान परिवारलाई सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको बिचार