Wednesday, July 24, 2019

निरन्तर हिमपातले मनाङमा मर्न थाले चौँरी

प्रकाशित मिति: 2019/02/27

मनाङ । निरन्तरको हिमपातले मनाङमा चौँरी मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

जिल्लामा रहेका कतिपय चौँरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा पति उत्तिकै चौँरी मरेका छन् ।

जिल्लाभरि करीब एक हजार ५०० देखि दुई हजार सङ्ख्यामा रहेका चौँरी के–कति कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्याङ्क भने आएको छैन । कति जिउँदै बेपत्ता छन् भने केही मरेको भेटिन थालेका छन् ।

जिल्लाको माथिल्लो भेगमा रहेका चौँरीको त कहाँ कस्तो अवस्थामा छ भन्ने अत्तोपत्तो छैन ।

तल्लो भेगका चामे गाउँपालिका र नासों गाउँपालिकामा ४०० जति चौँरी बेपत्ता भएको र ६० भन्दा बढी मरेको चौँरीपालक सुरेश थकालीले बताए ।

उनका अनुसार नासों गाउँपालिकामा रहेको नाचेगाउँका बलबहादुर गुरुङ र काशीराम गुरुङको गोठबाट २०० चौँरी हराएका छन् । तिनीहरुको खोजीकार्य जारी रहेको छ । त्यस्तै तिमाङको वनमा रहेको पासाङ लामाको ३५ चौँरी तथा तिल्चेको लेकबाट ङिमाओङ्गेल पुनेल र धर्मजङ गुरुङको ६० चौँरीको अवस्था अज्ञात रहेको थकालीले बताए ।

‘एउटा चौँरीको रु एक लाख २० हजारभन्दा बढी मूल्य पर्दछ, केही गरौँला भनी पुख्र्यौली पेशा अँगालेका हौं, खै दैव लागेपछि कसको के लाग्दोरहेछ ?’ स्थानीय धनबहादुर गुरुङले भने ।

चौँरीपालक किसानका अनुसार हिमपातले करोडौँभन्दा बढी नोक्सान पुर्याएको छ । हराएका चौँरीको नामोनिसान भेट्टाउन सकिएको छैन ।

तल्लो मनाङका ताल, नाचे, तिल्चे, ओढार र तिमाङलगायतका ठाउँमा मात्रै ४०० चौँरी हराएका तथा तथा मरेको तथ्याङ्क किसानहरुको छ । माथिल्लो भेगमा त झन् कस्तो छ थाहा छैन । हिउँ पर्न रोकिएपछि मात्र यकिन तथ्याङ्क आउने चौँरीपालक सुरेश थकालीले बताए । रासस

तपाईंको बिचार