Friday, May 24, 2019

सिके राउतसँग सरकारले राष्ट्रघाति सम्झौता गर्यो :देउवा

प्रकाशित मिति: 2019/03/12

२८ फागुन, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसँगको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाले बताए ।

नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले भने, ‘नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा हामीलाई सैहृय हुँदैन । सिकेसँगको सम्झौतालाई राष्ट्रघाती कामका रुपमा लिएका छौं । देशलाई टुक्राउने कुरा हामी मान्दैनौं ।’

सिके राउतले जनमत संग्रह भनेर बोलिरहेको, तर प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डनसमेत नगरेको भन्दै देउवाले आपत्ती जनाए । ‘सिके राउतले नयाँ देश बनाउँछु भनिरहेको छ । यो मूलधारको राजनीतिमा आउने कुरा होइन रहेछ,’ देउवाले भने, ‘राष्ट्रघाट गरेका छन् वास्तवमा । सिकेले बोलेको कुरामा ओली (प्रधानमन्त्री केपी शर्मा ओली) ले खण्डन गर्नुर्पयो ।’

अलग्गै देशबाट सहमति लिएजसरी सिकेले बोलिरहेको देउवाले बताए । ‘सिके राउतले अलग्गै देश बनाउन सहमति भन्छ त, मैले भनेको कुरा होइन,’ देउवाले भने, ‘देश टुक्राउने कुरा गरेको छ, मूलधारमा आएको भए त्यसो भन्थे ?’

प्रतिपक्ष कमजोर भयो भन्ने पत्रकारको सवालको देउवाले प्रतिकार गरे । ‘भोट हाल्ने बेलामा एमालेलाई हाल्ने अनि कांग्रेस कहाँ गयो, कहाँ गयो भन्ने ?,’ देउवाले भने, ‘हामी एमालेजस्तो तीन महिना संसद नै चल्ने नदिने पार्टी त होइनौं नि । अब सशक्त आन्दोलन गर्छौं ।’

कस्तो सशक्त आन्दोलन भन्ने कुरा गरेपछि थाहा हुने उनको भनाइ थियो । ओली प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा एउटा पनि देखाउनलायक राम्रो काम नगरेको देउवाले दाबी गरे । फौजदारी संहिताको नाममा प्रजातन्त्र र प्रेसलाई नियन्त्रण गर्ने र अधिनायकवादमा लैजाने काम गरिरहेको उनको आरोप छ ।

तपाईंको बिचार