Monday, September 16, 2019

सिके राउतको दोकान’ चल्दैन :समानी, राजपा नेता

प्रकाशित मिति: 2019/03/12

२८ फागुन, वीरगञ्ज । राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहासिचव नेजामुद्धिन समानीले मधेसमा राजपा र फोरम हुँदाहुँदै अब सिके राउतको ‘नयाँ दोकान’ नचल्ने बताएका छन् । मधेसमा धेरैवटा पार्टीलाई जनताले नरुचाउने भएकाले अब सिके राउतले अर्को पार्टी चलाइरहनु भन्दा राजपा फोरममै समाहित हुनु उचित हुने समानीको सुझाव छ ।

मधेसको मुद्दामा राजपा र फोरमले मिलेर संघर्ष गरिरहेकाले मधेसमा अर्को पार्टीको औचित्य नरहेको समानीको जिकिर छ । राजपा नेता समानीले अब सिके राउतका नाममा मधेसमा अर्को पार्टीको कुनै आवश्यकता नरहेको दाबी गरे ।
केपी ओली नेतृत्वको सरकारले मधेसमा दुईवटा दल भएको ठाउँमा तेस्रो दल खडा गर्ने प्रयास गरेकाले यसमा सरकार र सिके राउत दुबै असफल हुने समानीको दाबी छ ।
सिके राउतको मागमा खासै दम नभएको अवस्थामा सम्झौता गरेर केपी ओली सरकारले नयाँ रणनीति लिएकोे बताउँदैे यसले काम नगर्ने बताए । 

मधेसी जनताले एउटै मुद्दा बोकेका राजनीतिक दलहरुलाई धु्रवीकरण हुन आग्रह गरिरहेकाले सिके राउतले खोल्ने दोकान नचल्ने समानीको दाबी छ ।  
राजपा सहमहासचिव समानीले सिके राउतलाई मधेसमा छुट्टै दल खोल्न भन्दा एक भएर अघि बढ्न सुझाव दिए । उनले भने, ‘जनताले भनिसकेका छन् कि एउटै मुद्दाका लागि धेरै पार्टी खोल्नु आवश्यक छैन । त्यसैले हामीले ६ वटा दल मिलेर एउटा राजपा गठन गरेका हौं । हामी मधेसमा दलहरुको संख्या कम गर्नेतर्फ लागेका छौं । हामीले मिलेर चुनाव लड्यौं, मिलेर प्रदेश २ मा सरकार पनि चलाइरहेका छौ, यो जनताको चाहना हो ।’

सरकार र सिके राउतवीचको सहमति अधुरो रहेको राजपा नेता समानीको विश्लेषण छ  । सरकार भन्छ हामीले देश टुक्र्याउनेर नटुक्र्याउनेबारे जनमत संग्रह गर्ने सहमति गरेको छैन, तर सिके राउतको भनाइमा जनमत संग्रह गर्ने सहमति भएको छ ।’

 जनकपुरमा स्वतन्त्र मधेसको झण्डा हेर्नुभयो, छुटेर गएपछि भएको प्रदर्शनको स्वरुप कस्तो छ ? गृहमन्त्रीले संसदमा जुन किसिमले व्याख्या गर्नुभएको छ, सिके राउतका नेता कार्यकर्ताहरुले जुन हिसाबले प्रदर्शन र गतिवधि देखाइरहेका छन, त्यो मेल खाइरहेको छैन ।  

केपी ओलीको ‘नयाँ मधेस कार्ड’ ?

केपी ओली नेतृत्वको सरकारले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतसँग फाुगन २४ गते ११ बुँदे सहमति गरेपछि यसले तराई मधेसमा नयाँ तरंग ल्याएको छ । सिके राउतका समर्थकहरुले वीरगञ्ज लगायत तराई मधेसका विभिन्न जिल्लामा दीप प्रज्वलन गरेर खुशीयाली मनाइरहेकै छन् भने जनकपुरमा उनीहरुको प्रदर्शनलाई लिएर विभिन्न टीकाटिप्पणीहरु पनि भइरहेका छन् ।

सिके राउतसँग भएको सहमतिबारे यहाँका राजनीतिक दल र बुद्धिजीविहरुले मिश्रीत प्रतिक्रिया दिएका छन् । कतिपयले यो सहमतिलाई प्रधानमन्त्री ओलीको ‘नयाँ मधेस कार्ड’ का रुपमा हेरेका छन् । यद्यपि बुद्धिजीवी र नेताहरु सिके राउतले विखण्डनको नारा छाडेर मूलधारमा आउनु सकारात्मक भएको बताउँछन् ।

मधेसका कतिपय बुद्धिजीविले ११ बुँदे सहमतिलाई सरकारले आफ्नो असफलता लुकाउन र  जनताको ध्यान ‘डाईभर्ट’ गर्न गरिएको खेलका रुपमा टिप्पणी गरेका छन् । सरकारसँग सम्झौता गरिसकेपछि सिके राउतले जनकपुरमा गरेको गतिविधिलाई धेरैले मन पराएका छैनन् ।

प्राध्यापक विनोद गुप्ता सरकारले सिके राउतसँग सहमति गर्नुको आवश्यकता र औचित्य नै अस्पष्ट रहेको बताउँछन् । उनले सरकारले आफ्नो असफलता लुकाउनका लागि ‘सिके राउत कार्ड’ अघि सारेको आरोप लगाए ।

सरकारले सिके राउतसँग सम्झौता गर्नुपर्ने आवश्यकता नै नरहेको गुप्ताको तर्क छ । मधेसी जनताले खासै साथ दिएका थिएनन् । भारतबाट पनि समर्थन पाउने आशै थिएन । भारत आफैं जम्मु कश्मिर लगायतका आन्तरिक समस्यामा जेलिएको छ । यस्तो अवस्थामा सरकारले सिके राउतसँग सहमति गर्नु आवश्यक नै थिएन ।’ तर, केपी ओली नेतृत्वको सरकारले आफ्नो असफतालाई लुकाउन र जनताको ध्यान  मधेस मुद्दाबाट अन्यत्र मोड्न सिके राउतसँग सहमति गरेको गुप्ताको दाबी छ ।

सहमतिको दुई नम्बर बुँदामा ‘जन अभिमत’ भनेर उल्लेख गरेर सरकार आफैं फसेको तर्क गुप्ताको छ ।

‘जनअभिमत भनेको जनताको मत हो, संसदीय व्यवस्थामा जनताको मत एक किसिमले मात्रै प्रकट हुन्छ, त्यो हो निर्वाचन । संविधानमा उल्लेख नगरिएको अवस्थामा झुक्याएर जनमत संग्रह गराउने हो । पञ्चायती संविधानमा जनमत संग्रह गराउँछु भनेर उल्लेख थिएन, जनताको मागका अगाडि झुकेर जनमत संग्रह गराइएको थियो । त्यसैले सिके राउतले सरकारलाई झुकाएर जनमत संग्रह गराउन खोजेको देखिन्छ ।’

प्राध्यापक गुप्ताका अनुसार आर्थिक मञ्चमा ओली सरकार असफल देखिएको छ । पुँजीगत विकास बजेट २५ प्रतिशत मात्रै खर्च भएको छ । मन्त्रालयगत खर्चको प्रगति पनि १० प्रतिशतभन्दा कम भइरहेको छ । राष्ट्रपति विद्या भण्डारीको सवारीको विरोधमा जनताले मास मुभमेन्टजस्तै गरी ट्राफिकको आग्रह उलंघन गरेका छन् । यस्तै कुराले प्रधानमन्त्री ओली पार्टीबाट पनि आलोचित बनिरहेको अवस्था छ ।’

गुप्ताले अनलाइनखबरसँग कुराकानी गर्दै अगाडि भने ‘जति प्रतिरक्षा गरे पनि सरकार  ११ बुँदे सहमतिमा फसेको छ । मैले ठूलो काम गरें, गिरिजा प्रसाद कोइरालाले माओवादीलाई मुलधारमा ल्याएजस्तै मैले पनि सिके राउतलाई मुलधारमा ल्याए मधेसवादी दललाई झापड हान्छु भन्ने लागेको थियो होला । तर, उल्टो र्पयो ।

जनकपुरमा भएको सिके राउतको प्रदर्शनले नै सरकार फसेको कुरालाई पुष्टि गरिसकेको बताउँदै गुप्ताले भने, ‘त्यसैले यो सहमति कौवालाई बेल पाक्यो, हर्ष न विस्मातजस्तै भयो ।’

मधेसी जनताको भावना नबुझी गरिएको सहमतिको अर्थ बुझ्न कठिन भएको गुप्ताको प्रतिक्रिया छ । 

तपाईंको बिचार