Sunday, July 21, 2019

बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए

प्रकाशित मिति: 2019/03/19

चैत ५, बाँके । व्यक्ति बन्धक बनाएर जग्गा कीर्ते गरेको आरोपमा प्रहरीले बाँकेका ८ कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गएराति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
प्रहरीले नायव सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा र रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द र भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।
मालपोत कार्यालय बाँकेबाट सरुवा भएर हुलाक कार्यालय बाँके पुगेका अधिकृत पुष्पा श्रेष्ठलाई पनि बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्तिले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा समेत उनीहरु संलग्न रहेको आशंका प्रहरीले गरेको छ । यसबारे केही दिनभित्रै तथ्य बाहिर आउने प्रहरी उपरीक्षक पौडेलले बताए ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय गिरोहलाई पक्राउ गरेपछि प्रहरीले उनीहरुको बयानका आधारमा भूमाफिया गिरोहलाई सघाउने कर्मचारीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।

सेवाग्राहीको भीडभाड हुने भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका पाँच कर्मचारी प्रहरीको नियन्त्रणमा परेपछि कार्यालयको काम प्रभावित हुने भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेवा प्रवाहमा समस्या आउने स्थिति आए अन्य कार्यालयबाट कर्मचारी झिकाएर काम नियमित पारिने बताए ।

तपाईंको बिचार