Thursday, May 23, 2019

रामचन्द्र गिरी उर्फ (बिल्ला) को फेरिएको जिबन यस्तो पो रहेछ

प्रकाशित मिति: 2019/03/24

०५९ ताका नेपालमा माओबादी द्धन्द उत्कर्षमा पुग्यो । पोखरामा होटल सञ्चालन गरिरहेकै थिएँ । द्धन्दले पर्यटक ठप्प जस्तै भयो । घाटा नै बेहोर्नुपरेपछि व्यवसाय बन्द गरेरै जापान गएँ । पछि श्रीमतीसहित उतै गयौँ । चार बर्ष जापान बसेपछि नेपाल फर्र्र्किएँ । २०६८ ताका पहिलाकै व्यवसाय परिवार होलिडेज सञ्चालन गरेर अहिलेसम्म पनि यसैमा रमाईरहेको छु । गन्तव्य नेपालसँगको कुराकानीमा सञ्चालक रामचन्द्र गिरी (बिल्ला) यसरी बताए ।

बाल्यकाल खोटाङमै बित्यो, एसएलसीपश्चात काठमाण्डौ आएँ । तिन दिन हिडेर जिरी आइएसकेपछि बस चढेर काठमाण्डौ आईपुगेँ । दिदीले बाटोमा कुरिरहनुभएको थियो । काठमाण्डौ आएको हप्तादिन सम्म कलेज चहार्दै बित्यो । आरआर क्याम्पसमा भर्ना भएँ, आईए पढेँ । रमाईलै थियो । भिनाजुको ठमेलमा होटल थियो, त्यसैमा काम गरेँ । पछि उहाँ जर्मनी जानुभयो, व्यवस्थापनका क्षेत्र पनि हेर्नु पर्ने भयो ।
कामले आत्मबिश्वास दिएकै थियो, त्यसपछिको क्षेत्र के भन्ने खोज्दै जाँदा साझेदारीमा ठमेलमै होटल व्यवसाय खोल्ने निर्णय भयो । आरआरको पढाई पनि त्यत्तिकै टुंगीयो । ०५७ ताका साझेदारीमा होटल व्यवसाय सुरु गरेपश्चात त्यसको केही समयपछाडि अघि चर्चा गरेअनुसार द्धन्दको प्रभाव व्यवसायमा देखियो, केही समय बिदेशिन बाध्य भए । पोखरामै हुँदा जापानी युवतीसँग मन गाँसियो, पछि बिवाह गर्यौ ।
अहिले अवस्था केही सुधारिएको छ । चैत्र लागिसक्दा काठमाण्डौमा अझै चिसै छ । मुलुकको राजनीतिक अवस्था मात्रै पर्यटनमैत्री हुने हो भने पर्यटक नआउन भन्दा पनि आउने अवस्था छ । होमस्टेका नाममा पनि व्यवसायीमाथि अत्याचार भएको उनको बुझाई रहेछ । ठमेललाई पर्यटकीय गन्तव्य मान्ने हो भने यहाँ करोडौ लगानी भएको छ, तर पर्यटकहरुलाई संस्कृति बुझाउने नाममा दैनिक १ डलर भन्दा पनि कम खर्चमा बसोबासको व्यवस्था होमस्टेको नाममा सञ्चालित भएका छन । यसले पर्यटक भाडा लाग्न नसकेका घरका कोठाहरुमा खोज्नुपर्ने अवस्था श्रृजना भएको छ । अर्को कुरा एकपटक नेपाल भ्रमण गरेर गएको पर्यटक फर्केर आउँदा आफै टुरगाईड भएर आउँछ, यसले पनि रोजगारी खुम्चदै गएको छ, यसमा कम्तीमा पनि सरकारले नियमन गर्न जरुरी छ ।
समृद्ध पर्यटनका लागि ठमेलमा क्रियाशिल संघसंस्थाहरु पनि सक्रिय हुनुपर्ने उनको बुझाई छ । ठमेलको बिकासका लागि खुलेका संघसंस्थाहरुको भुमिका पनि यथोचित हुन नसकेको उनको अनुभव छ । कुराकानीकै क्रममा ठमेल पर्यटन बिकास परिषद्को अध्यक्षमा सर्वसम्मत हुन नसके निर्वाचनमा आफु अध्यक्षको उमेद्धवार हुने बताए । ठमेलबासीहरुमा चर्चित र नजिक रहेर काम गरिरहेका गिरी आफुलाई सबैले सहयोग गर्नेमा ढुक्क रहेको बताउँछन ।
ठमेल पर्यटनको आधारभुमि भएका हिसाबले पनि यसको सबल अस्तीत्व जोगाईराख्नु जरुरी छ । उनले भने ।

तपाईंको बिचार