Thursday, May 23, 2019

१० अर्ब लगानी भित्राउने गैरआवसीय नेपाली संघको तयारी

प्रकाशित मिति: 2019/03/26

१२ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघले नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर १० अर्ब बढीका परियोजनामा लगानी गर्ने भएको छ ।

यसका लागि आसन्न लगानी सम्मेलनमा ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट कोष’ स्थापनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ ।
नेपाल सरकार समेतको लागानीमा स्थापना हुने यो कोषको अधिकृत पुँजी २० अर्ब र चालु पुँजी १० अर्ब रहने संघका उपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ लगानी तथा बाणिज्य प्रवर्द्धन कार्यदलका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

गैरआवासीय नेपालीको लगानी विभिन्न आयोजनामा छरिएर आउँदा ठूलो परिणाम नदेखिएकाले कम्पनी खडा गरेर एकमुष्ठ रुपमा लगाउन खोजिएको पन्तले बताए ।
सम्झौतापत्र तयार भइसकेको र लगानी सम्मेलनका क्रममा एनआरएन अध्यक्ष भवन भट्ट तथा नेपाल सरकारका प्रतिनिधिले हस्ताक्षर गर्ने संघले जनाएको छ ।
गैर आवासीय नेपालीको लगानी सुनिश्चित र सुरक्षित गर्न नेपाल राष्ट्र वैंक, कम्पनी रजिष्टार कार्यालय र सुरक्षा बोर्डले सबै आवश्यक प्रबन्ध मिलाउने प्रस्तावित सम्झौतापत्रमा उल्लेख छ ।
कम्पनीको शेयर, बैंक ऋण लगायतका सबै प्रबन्ध नेपालको कानुन अनुसार नै सम्बद्ध निकायले सहजीकरण गर्नेछन् । गैरआवासीय नेपाल्ी संघले पहिलो चरणमा एक वर्षभित्र १० अर्ब रुपैयाँ नेपालमा लगानी ल्याउने सम्झौतापत्रमै उल्लेख हुनेछ ।
कोषको ८५ प्रतिशत पुँजी गैर आवासीय नेपालीहरुलाई शेयर वितरण गरी संकलन गरिनेछ । एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेका अनुसार नेपाल बाहिर रहेका गैरआवासीय नेपालीलाई शेयर होल्डर बनाउने गरि इन्भेस्टमेन्ट कोष गठन हुनेछ ।

कोषमा नेपाल सरकारको पनि सामान्य हिस्सा रहनेछ । तर, नेपालमा बस्ने नेपालीले भने कम्पनीको शेयर किन्न पाउने छैनन् ।
कम्पनी खडा भएको १ वर्षभित्र १० अर्ब नेपालमा भित्र्याउने र सो रकम अहिले बनिरहेका परियोजना, एनआरएन आफैंले पहिचान गर्ने नयाँ परियोजना वा साझेदारीमा पनि लगानी गर्न सकिने गरी काम भइरहेको उपाध्यक्ष पन्तले बताए ।

तपाईंको बिचार