Sunday, July 21, 2019

रामबहादुर बमजनको क्रियाकलापमाथि अनुसन्धान भईरहेको गृहमन्त्रालयको भनाइ

प्रकाशित मिति: 2019/03/28

तपस्वीको भेषमा बस्ने रामबहादुर बमजनको आश्रमबाट हराएका अनुयायीहरूको खोजी र उनको आश्रममा भएका भनिएका घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने र दोषीलाई कारबाही गर्ने जवाफ गृहमन्त्रालयले संसदलाई दिएको छ ।
गत माघ २१ गते नेपाली कांग्रेसका सांसद गगन थापाले बमजनको आश्रममा चलेका अपराधिक कार्यको अनुसन्धान कसरी भएको छ भन्दै गृहमन्त्रीका नाममा प्रश्न दर्ता गरेका थिए । त्यही प्रश्नको लिखित जवाफमा गृहले बमजनमाथि सुक्ष्म अनुसन्धान भइरहेको उल्लेख गरेको हो ।
‘सिआइबी तथा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेकाले अनुसन्धान पूरा भएपछि सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुन बमोजिमको काबाही गरिने छ,’ गृहको जवाफमा उल्लेख छ ।

बमजनको आश्रमबाट सम्पर्कविहीन भएका अनुयायीहरू (हालसम्म डोल्मो, चुन्मो, सञ्चलाल वाइवा, सुरेश आलेमगर र रिता बोट) को खोजी भइरहेको पनि गृहले जनाएको छ । प्राप्त उजुरीमाथि प्रहरीले सुक्ष्म तरिकाले छानबिन गरिरहेको गृहको जिकिर छ ।

अहिलेसम्मको अनुसन्धानबाट मिश्रित नतिजा प्राप्त भएको गृहको जवाफमा उल्लेख छ । कतिपयले उजुरी तामेलीमा राख्न निवेदन दिएको लगायत कारणले अनुसन्धान जटिल बनेको पनि गृहले जनाएको  छ ।

तपाईंको बिचार