Wednesday, April 24, 2019

खोटाङमा यात्रुवाहक बस दुर्घटना, १ को मृत्यु, १४ घाइते

प्रकाशित मिति: 2019/04/16

३ वैशाख, खोटाङ । काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् ।

चालक र सहचालकसहित १५ यात्रु सवार ना४ख ७४११ नम्बरको  बस गएराति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना भएको हो । दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्स मार्फत उपचार गराउन जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने अन्य छ जनालाई जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।

दुर्घटनाका घाइतेको नाम अहिलेसम्म खुल्न सकेको छैन । बस सडकबाट चिप्लिएर १५–२० मिटर तल झरेपछि कोल्टिएर अड्किएकाले ठूलो क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक भुवनबाबु खड्काले बताए ।
सहचालक ओत हाल्न ओर्लिकाले दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ । उद्धारलगत्तै स्वास्थ्यचौकी दुर्छिम लगिएका अन्य छ घाइतेलाई थप उपचारका लागि मङ्गलबार बिहान जिल्ला अस्पताल दिक्तेल ल्याइएको हो ।

तपाईंको बिचार