Friday, July 19, 2019

नेकपा चार नेताको बालुवाटारमा बैठक, एकता प्रक्रिया टुंगाउने मुद्धा

प्रकाशित मिति: 2019/04/21

बैशाख ८, काठमाण्डौ । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर ११ महिनाअघि गठन भएको नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुंग्याउन नेताहरूबीच बालुवाटारमा अहिले बैठक बसिरहेको छ ।
आइतबार बिहान ९ बजेदेखि बालुवाटारमा  अध्यक्ष तथा प्रधानमन्त्री  केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव बिष्णु पौडेलबीच अनौपचारिक बैठक जारी छ ।
नेता नेपाल निकट केन्द्रीय सदस्य बिष्णु रिजालका अनुसार आजको बैठकले जिल्ला अध्यक्ष र सचिव, पोलिटब्युरोको गठन र उपत्यका समितिको टुंगो लगाउने सम्भावना छ । नेकपाले सात प्रदेश कमिटीजस्तै र एउटा काठमाडौं उपत्यकाको कमिटी पनि बनाउने भएको छ ।

अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच सल्लाह भएपछि पछिल्ला केही दिनयता नेकपाको सांगठनिक एकता प्रक्रिया अगाडि बढेको थियो ।
यसअघि एकताका लागि बरिष्ठताको मापदण्ड बनाउनु पर्ने अडान लिँदै आएको नेपाल समूह पछि हटेको छ। ओली पक्षले माओवादीसँग एकतापछि योग्यता र क्षमता भएको व्यक्तिलाई नेतृत्व दिनुपर्ने धारणा राख्दै आएको थियो। नेपाल समूह भने बरिष्ठताको अडानमा थियो। तर नेपाल समूह नेतृत्व पाउने नाममा छलफल गर्न तयार भएको हो।
नेकपाभित्र पूर्वएमालेले ४५ र पूर्व माओवादीले ३२ जिल्लाको नेतृत्व गर्ने सहमति भैसकेको छ। जिल्ला नेतृत्व पूर्वएमालेले पाए सचिव पूर्व माओवादीतर्फले पाउनेछ । त्यस्तै पूर्व माओवादीले नेतृत्व पाएको ठाउँमा सचिव पूर्व एमालेको हुनेछ ।
नेपाल पक्षले यसअघि जिल्ला अध्यक्ष जितेकाहरूलाई नै नेतृत्व दिनु पर्ने अडान राखेको थियो। पार्टी एकताको चरणमा रहेकाले कायम रहेका अध्यक्षलाई हटाएर नयाँ ल्याउन नमिल्ने नेपाल पक्षको तर्क थियो।
अप्रिल २२ मा भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । यस वर्ष वैशाख ९ गते अप्रिल २२ परेको छ। सोही दिनको अवसरमा एकता पक्रिया टुंग्याउन  नेताहरू घनिभूत छलफलमा जुटेका हुन् ।
अध्यक्षद्वय ओली र प्रचण्डले अघिल्लो बिहीबार चन्द्रागिरी पुगेर छलफल गरेका थिए ।

तपाईंको बिचार