Sunday, July 21, 2019

अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणका लागि गिट्टी बालुवा आफुर्तिमा अबरोध

प्रकाशित मिति: 2019/04/24

११ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि गिट्टी बालुवाको आपूर्तिमा फेरि अवरोध भएको छ । यसले गर्दा विमानस्थलको निकै संवेदनशील काम प्रभावित हुने जोखिम बढेको छ ।

ललितपुरको देवीचौरका स्थानीयले गिट्टी बालुवा आपूर्तिमा अवरोध र्पुयाएका हुन् । क्रसरहरुले जथाभावी गिट्टी बालुवा निकालेको भन्दै देवीचौरमा स्थानीयले अवरोध गरेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम यस्ता समस्या आएपनि समाधान गरिने बताउँछन् । यसअघि काभ्रेबाट यो कामका लागि गिट्टी बालुवा आपूर्ति गरिन्थ्यो । तर, त्यहाँ पनि स्थानीयले अवरोध गरेका थिए ।
आफ्नो बालीनाली र बसोबास क्षेत्रमा नै क्षति पुग्ने गरी गिट्टी बालुवा निकाल्न नदिने पक्षमा स्थानीय उभिएका छन् ।
सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको छ । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे हुनेछ ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रनवेको स्तरोन्नति काम गर्दैछ ।
नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्रा्ष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार चैत १८बाट सुरु भएको यो काम बढीमा ९० दिनभित्र सकाउने लक्ष्य छ ।

तपाईंको बिचार