Thursday, May 23, 2019

सातै प्रदेशमा ग्यास उद्योग र पेट्रोल पम्प खोल्ने सरकारको तयारी

प्रकाशित मिति: 2019/04/24

११ वैशाख, काठमाडौं । सरकारी स्वामित्वको नेपाल आयल निगमले निजी क्षेत्रको बोलावाला रहेको खाना पकाउने ग्यासको बजारमा हस्तक्षेप गर्ने भएको छ । सरकारी तवरबाट साल्ट ट्रेडिङ कर्पोरेसन मात्रै ग्यासको बोटलिङ र बिक्री वितरणमा संलग्न रहेको अवस्थामा निगम आफैंले पनि बजार हस्तक्षेप गर्न ग्यासको बोटलिङ प्लान्ट आफैं चलाउने निर्णय गरेको छ ।

निगम सञ्चालक समितिले प्रत्येक प्रदेशका एक(एक वटा बोटलिङ प्लान्ट निर्माण गर्ने निर्णय गरेको हो । यस्तै बैठकले सबै प्रदेशका एक(एक वटा आधुनिक पेट्रोल पम्प पनि निर्माण गरी सञ्चालन गर्ने निर्णय गरेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

 


सामान्य अवस्थामा पनि विभिन्न बखेडा झिकेर ग्यास उद्योगी र पम्प सञ्चालकहरु आन्दोलनमा जाने गर्दा समस्या दोहोरिइरहेकाले निजी क्षेत्रसँगै प्रतिस्पर्धा गर्ने गरी निगमले सेवा थाल्ने योजना बनाएको छ ।
करिब ४६ वर्षदेखि ग्यास उद्योगमा निजी क्षेत्रको एकाधिकार छ । पेट्रोल पम्प भने सुरक्षा निकायको पनि लगानी छ ।  नाकाबन्दीको समयमा आएको ग्यास पनि कालोबजारी गरेका उद्योगीले आफ्ना माग पूरा गराउने बहानामा विभिन्न समयमा आपूर्ति र वितरण रोक्ने गरेका छन् ।
यसले नागरिक अत्यावश्यक सेवाबाट विमुख हुने अवस्था पटक(पटक आउने गरेको छ । यही एकाधिकार बजारलाई तोड्न निगमले आफ्नै ग्यास उद्योग खोल्ने निर्णय गरेको हो ।
निजी क्षेत्रबाट हुने असहयोगलाई निरुत्साहित पार्न निगमले आफ्नै बोटलिङ प्लान्ट खोल्नुपर्ने आवश्यकता महसुस भएको एक अधिकारीले बताए । निगमले अहिले ग्यासको कोट बाँड्ने र आपूर्ति गर्ने काम मात्रै गरिरहेको छ ।
आपूर्ति भएको ग्यास निजी क्षेत्रका बोटलिङ प्लान्टलाई बेच्ने काममा मात्रै संलग्न निगम अब बजारमा आफ्नै ब्रान्डको ग्याससहित आउने भएको छ ।

तपाईंको बिचार