Tuesday, May 21, 2019

जापान जाने हतारो :मन्त्रालय भन्छ,– ‘‘कामदार लैजाने मिति टुंगो छैन’’

प्रकाशित मिति: 2019/04/25

१२ वैशाख, काठमाडौं । धेरै नेपाली कामदारलाई चासो छ, रोजगारीका लागि जापान कहिलेबाट खुल्छ ? तर कामदार लैजाने प्रक्रिया सुरु गर्ने विषयमा कुनै टुंगो लागि नसकेको सरकार बताउँछ ।

दुई देशले कामदार आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर गरे पनि जापानले अझै भाषा परीक्षाको मोडालिटी टुंगो लगाएको छैन ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल जापानले भाषा परीक्षा र भर्ति प्रक्रियाका विषयमा गहृकार्य गरिरहेकाले कामदार लैजाने प्रक्रिया र मितिबारे एकीन भइनसकेको बताउँछन् ।
जापानले हाल परीक्षणका रुपमा इन्डोनेसिया र फिलिपिन्समा भाषा परीक्षा सञ्चालन गर्दैछ । त्यसपछि मात्रै नेपालसहित अरु ७ मुलुकमा कामदार आपूर्तिका लागि परीक्षा गर्ने मन्त्रालय स्रोत बताउँछ । उनले भाषा कक्षा सञ्चालन गर्ने संस्थाहरुमाथि शिक्षा मन्त्रालयले निगरानी बढाएको बताउँदै हाल कोर्सको विषयमा अस्पष्टता रहेको स्वीकारे । जापानले दुई देशमा परीक्षण स्वरुप भाषा परीक्षा गरेपछि नेपालमा पनि भाषा परीक्षाको कोर्स पठाउने सचिव महेश दहालले बताए ।
‘हामीले भाषा पढाउनेबाट ठगी नगरियोस् भनेर शिक्षा मन्त्रालयलाई नियमित अनुगमनका लागि आग्रह गरेका छौं,’ सचिव दाहालले भने ।
समझदारीअनुसार जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक पाउनेछन् । जापानले यसअघि अप्रिल १ देखि कामदारको भर्ति प्रक्रिया सुरु गर्ने भनेको थियो । १४ कार्यक्षेत्रमा नेपालसहित ९ देशबाट विदेशी कामदार लिँदैछ ।
कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिनेछ ।

नेपालीका लागि सबै कार्यक्षेत्र खुला छ तर, कुन क्षेत्रमा कति कामदार भन्ने निश्चित हुन बाँकी छ ।
जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिनेछ ।

पहिलो वर्ग (एसएसडब्लू(आई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ र उनीहरु बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउँछन् र दोस्रो वर्ग (एसएसडब्लू (आईआई)का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ ।
डाक्टर, नर्स, इन्जिनियर लगायतले यस्तो भिसा पाउनेछन् । यस्ता कामदारको पनि भिसा अवधि थप गर्न सकिने र परिवारका सदस्यहरुलाई समेत जापान लैजान सक्ने सुविधा हुने समझदारी भएको छ ।
नेपाली श्रमिक जुन कार्यक्षेत्रमा गएका छन, त्यही कार्यक्षेत्रमा रोजगारदाता परिर्वतन गर्न सक्नेछन् । यसमा सामाजिक रोजगार सेवा केन्द्रले सहयोग र समन्वय गर्नेछ ।

नेपाली कामदारहरुले जापानमा त्यहाँका नागरिक सरह सेवा सुविधा पाउने सुनिश्चितता समझदारीमा गरिएको छ । नेपाली श्रमिकहरुलाई प्राप्त गर्ने पारिश्रमिक जापानी नागरिक ले सोही कामका लागि प्राप्त गर्ने पारिश्रमिक सरह वा सो भन्दा बढी हुने भनिएको छ ।

कामदारलाई सहायता योजना अन्र्तगत दैनिक जीवनयापनसम्बन्धी अभिमुखिकरण, भाषा सिक्न सहायता, बसाई र कार्यस्थलको अवस्था, स्वास्थ्य सेवा र काम परिर्वतनबारे सल्लाह र गुनासो व्यवस्थापनका विषय समेटिएका छन् ।
जापान जान चाहने नेपाली कामदारले जापानी भाषा र सीप परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्ने हुन्छ ।
समझदारीअनुसार कामदार भर्न र आपूर्तिका लागि छुट्टै सरकारी संयन्त्र खडा गरिनेछ । यसैमार्फत नेपाली कामदार जापान पठाइनेछ ।

साथै कामदार जापान जाँदा लाग्ने लागत लगायतका विषय सहसचिव स्तरको द्वीपक्षीय प्राविधिक समितिमार्फत टुंगो लाग्ने अधिकारीहरुले बताएका छन् ।

तपाईंको बिचार