Sunday, November 17, 2019

श्रीलंकामा आत्मघाति बम नपड्किएपछि जोगिएको विनोद चौधरीको पाँच तारे होटल

प्रकाशित मिति: 2019/04/26

बैशाख १३, काठमाण्डौ । श्रीलंकमा गत साता भएको आत्मघाती बिष्फोटमा २५३ जनाको मृत्यु भयो, कयौँ घाईते भए । 

यद्यपी श्रीलंकाको कोलम्वोस्थित विनोद चौधरीको पाँचतारे होटल ताज समुन्द्र आत्मघाती बम बिस्फोटबाट  जोगिएको छ । प्रहरीका अनुसार अन्तर्राष्ट्रिय आतकंकारी संस्था इस्लामिक इस्टेट (आइएस)ले आइतबार कोलम्वोमा गरेको शृङ्खलाबद्ध आत्मघाती बम हमलाको ‘टार्गेट’ सो होटल पनि थियो ।
आइएसका एक आत्मघाती आक्रमणकारी बिस्फोटक सामाग्री झोलाभरी बोकेर उक्त होटलमा पुगेको श्रीलंकाका अधिकारीहरुलाई उधृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

ती आक्रमणकारीले दुई पटक बम पड्काउन खोजेको तर प्राविधिक समस्याले नपड्किएको प्रहरीले जनाएको छ ।
त्यसपछि समुन्द्र किनारमा रहेको सो पाँच तारे होटलबाट निस्किएर आक्रमणकारी नजिकैको एउटा सानो होटेलमा पसेका थिए । त्यँही बम बिस्फोट भएर उनको मृत्यु भयो ।
सानो होटलमा पसेर प्राविधिक समस्या सुल्झाउन खोज्दाखोज्दै बम पड्केको अनुमान प्रहरीले गरेको छ ।
ताज समुन्द्रमा बम पडकेको भए श्रीलंका आक्रमणमा मर्नेको संख्या अझ धेरै बढ्न सक्ने श्रीलंकन प्रहरीले जनाएको छ । समुन्द्री तटमा रहेको कोलम्वोको प्रख्यात ’ताज समुन्द्र’ प्रायजसो विदेशी पाउनहरुले भरिभराउ हुने गर्छ ।
’ताज समुन्द्र’ भारतको प्रसिद्ध ’ताज समुह’ सँगको साझेदारीमा विदेशमा चौधरीले खोलेको पहिलो पाँचतारे होटल हो।

अहिले चौधरी समुहले संसारभर कैयौं होटल र रिसोर्ट चेन संचालन गरिरहेको छ ।
गत आइतबार होटेल र चर्चहरुमा भएको आक्रमणपछि पनि आत्मघाती आक्रमणको खतरा नटरेको प्रधानमन्त्री रणिल विक्रमासिङघेले जनाएका छन्।

श्रीलंकाको प्रहरीले सम्भावित आक्रमणकारीहरु अहिले चुपचाप लुकेर बसेको र मौका पाउनासाथ आक्रमण गर्नसक्ने भन्दै आममानिसलाई सतर्क गराएको छ । सम्भावित आक्रमणकारीको तस्बीर पनि प्रहरीले सार्वजनिक गरेको छ ।
श्रीलंकाले अहिलेसम्म ७० भन्दा बढि शंकास्पद मानिसहरुलाई नियन्त्रणमा लिईसकेको छ।
आतंककारी समुह इस्लामिक स्टेटले जिम्मा लिएको यो आक्रमणको अनुसन्धान गर्न र थप आक्रमण हुनबाट जोगाउन श्रीलंकालाई अमेरिकाको गुप्तचर संस्था एफबिआई, बेलयातको एमआई १६का साथै भारत, अष्ट्रेलिया, स्विजरल्याण्डका संस्थाहरुले पनि सघाइरहेका छन ।

 

तपाईंको बिचार