Thursday, November 21, 2019

स्वदेशमै रोजीरोटीको प्रबन्ध गर्न सरकार प्रतिवद्ध :प्रधानमन्त्री

प्रकाशित मिति: 2019/05/01

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका लागि स्वदेशमै रोजीरोटीको प्रबन्ध गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
श्रमजीवीहरुको हक–अधिकार सुनिश्चित गर्न श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनमा सरकार लागेको उनले सन्देशमा उल्लेख गरेका छन् । यही क्रममा श्रमिकहरुको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरिएको प्रधानमन्त्रीको भनाइ छ ।
योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्य्विधिसमेत तयार पारेको स्मरण गराउँदै उनले पूर्व प्रतिवद्धताअनुरुप नै आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू हुने प्रतिबद्धता दोर्होयाएका छन् । सरकारले गत साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो ।

देशभित्र रोजगारी सिर्जना गर्ने काममा पनि सरकारले गम्भीरतापूर्वक काम गरेको प्रधानमन्त्रीको भनाइ छ । देशभित्र रोजगारी सिर्जना गर्ने उद्देश्यकै लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको जानकारी दिँदै उनले यही आर्थिक वर्ष्भित्र प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना हुने बताए ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न उत्पादकत्व वृद्धि गर्ने ठोस योजनाका साथ सरकार अघि बढेकोसमेत सन्देशमा उल्लेख गरेका छन् ।
आजको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गर्दै विश्वभर छरिएर रहेका नेपाली श्रमजीवीप्रति सुख, शान्ति र समृद्धिको शुभकामना प्रकट गरेका छन् ।

तपाईंको बिचार