Sunday, November 17, 2019

अस्थाई शिक्षकलाई मौका होईन, बिदाई गरिन्छ :शिक्षामन्त्री पोखरेल

प्रकाशित मिति: 2019/05/08

२५ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको पुनः परीक्षा नहुने बताएका छन् ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री पोखरेलले अस्थायी शिक्षकलाई पुनः परीक्षा नभइ सम्मानजनक बिदाइ गरिने बताए । 
यसअघि शिक्षक सेवा आयोगको २०७४ साल असार २९ र ३० गते अस्थायी शिक्षकलाई स्थायी हुने मौका प्रदान गर्नका लागि परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा उतीर्ण भएका अस्थायी शिक्षकहरु स्थायी भएका छन् । तर असफल हुने र परीक्षामा सहभागी नभएका अस्थायी शिक्षकहरुले आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै पुन आन्दोलन सुरु गरेका छन् ।
अस्थायी शिक्षकलाई एक पटक परीक्षाको मौका दिएर असफल भएकालाई अनिवार्य अवकाश दिने गरी सरकारले शिक्षा ऐन पनि संशोधन गरेको थियो । यही विषय उल्लेख गर्दै शिक्षा मन्त्रालयका सचिव खगराज बरालले पनि कानुनअनुसार अस्थायी शिक्षकका लागि स्थायी गराउने गरी पुनः मौका परीक्षा लिन सक्ने अवस्था नरहेको बताए ।

तर, परीक्षामा असफल भएका अस्थायी शिक्षकहरुले भने आफु्नो रोजगारी नखोस्न माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् । आयोगले लिएको परीक्षामा असफल भएका र परिक्षामा सहभागी नभएका १३ हजार अस्थायी शिक्षक रहेको बताइएको छ ।
समिति बैठकमा केही सांसदहरुले अस्थायी शिक्षकहरुलाई रोजगारीबाट विस्थापित गर्न नहुने पनि बताएका थिए । जवाफमा मन्त्री पोखरेलले कानुनभन्दा बाहिर जान नसकिने बताए ।
बैठकमा सांसद रेखा कुमारीले लामो समय कार्यरत अस्थायी शिक्षकहरुको पीडालाई सम्बोधन गरेर अघि बढ्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । उनले कतिपय अस्थायी शिक्षकहरु अपांग समेत भएकाले उनीहरुको जीविकोपार्जनको व्यवस्था सरकारले गर्नुपर्ने पनि बताए ।
बैठकमा समिति अन्तरगतको शिक्षा उपसमितिले तयार पारेको प्रतिवेदन मन्त्री पोखरेललाई बुझाइएको थियो । प्रतिवेदनमा शिक्षक दरबन्दी तत्काल मिलान गर्न सरकारलाई सुझाव दिइएको छ । त्यसैगरी सार्वजनिक विद्यालयहरुको पठनपाठनलाई व्यवस्थित बनाउन पनि सरकारलाई सचेत गराइएको उपसमितिका संयोजक उमेश श्रेष्ठले जानकारी दिए ।
यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले शिक्षकहरुको दरबन्दी मिलानमा ढिलाइ हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तपाईंको बिचार