Friday, July 19, 2019

आगामी बर्ष युवा परिचालन बर्षका रुपमा रहनेछ :अर्थमन्त्री खतिवडा

प्रकाशित मिति: 2019/05/10

२७ वैशाख, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले अधुरा आयोजना सम्पन्न गर्ने वर्षका रुपमा बजेट विनियोजन गरिने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै आगामी वर्षलाई अधुरा आयोजना सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिने बताए । रेलमार्ग, जलमार्गलाई, सडकमार्ग लगायतका विकास पुर्वाधारलाई प्राथमिकतामा राखिने पनि उनले बताए ।

विकास निर्माणका आयोजनाहरुका लागि आवश्यक सामाग्री खरिद गर्दा आयात बढेको देखिएको भएपनि निर्यात क्षेत्र समेत सुधारउन्मुख रहेको उनको दाबी छ ।
विकासका लागि अनुकुल वातावरण समेत बन्दै गएको भन्दै उनले २०३० सम्म मध्यम आय भएको देश बन्ने गरि बजेट विनियोजन गरिने बताएका छन् । ‘आन्तरिक तथा बाहृय लगानीको अवसरका लागि वातावरण बनेको छ । २०३० भित्र मध्यम आय भएको देशमा पुग्ने हाम्रो लक्ष्य अनुसार बजेट विनियोजन गरिनेछ,’ उनले भने ।
विद्युत उत्पादनमा जोड दिने, एक वर्षभित्र सबै नेपालीको बैंक खाता हुने गरी कार्यक्रममा बजेट छुट्याउने खतिवडाले उल्लेख गरे । ‘समृद्ध नेपाल सुखी नेपालीको आधारशिला निमार्ण भएको छ । आगामी वर्ष समाजिक न्यायसहितको विकासको अधार वर्षका रुपमा रहने गरी बजेट विनियोजन गरिनेछ,’ खतिवडाले भने ।
आगामी वर्ष उच्च आर्थिक वृद्धि हुने गरी बजेट ल्याउने, क्षमता अनुसारको काम दिने र मौलिक हक कार्यानवयनमा केन्द्रित हुने पनि उनले बताए ।

अर्थमन्त्री खतिवाडाले आगामी बर्षलाई युवा परिचालनको वर्षको रुपमा लिइने र सोही अनुसार युवा लक्षित कार्यक्तमहरुलाई प्राथमिकतामा राखिने उल्लेख गरेका छन् ।

चालु आर्थिक वर्षमा मूल्य वृद्धि नियन्त्रणमा रहेको र आगामी वर्ष पनि मुल्य वृद्धिलाई नियन्त्रणमा राखिने अर्थमन्त्री खतिवडाले बताए । साथै सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी बजेट तुर्जुमा गरिने र जलवायु परिवर्तनको अनुकुलनमा पनि जोड दिइने अर्थमन्त्री खतिवाडले बताए ।
उनले दुई वर्ष भित्र साक्षर नेपाल बनाउने, सुरक्षित बस्ती विकास तथा आवास निमार्ण र वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्नेगरी बजेट विनियोजन गरिने बताएका छन् ।
सबै नागरिकलाई बिमामा ल्याउने, आगामी बर्षलाई बृक्षारोपण बर्षको रुपमा लिने गरी बजेट तर्जुमा गरिने उनले उल्लेख गरे ।

तपाईंको बिचार