Saturday, August 24, 2019

नयाँ खोलिएका भन्सार नाकाबाट निर्यात शून्य

प्रकाशित मिति: 2019/05/16

२ जेठ, काठमाडौं । नेपालमा दुई दर्जन भन्सार बिन्दुबाट आयात–निर्यात व्यापार हुन्छ । यसमध्ये ८ भन्सार बिन्दुबाट भने नेपालले कुनै पनि सामान बाहिर पठाउन सकेको छैन ।

भन्सार विभागकाअनुसार २३ वटा भन्सार बिन्दुबाट आयात–निर्यात दुवै हुन्छ, तर ८ भन्सार विन्दु भने केवल वस्तु आयातका लागि मात्र प्रयोग भइरहेका छन् । चालु आर्थिक वर्ष २०७५ र ७६ को ९ महिना (साउन–चैत)मा नेपालले ६९ अर्ब ८२ करोड २३ लाख बराबरको वस्तु निर्यात गरेको थियो ।
विराटनगर, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वीरगञ्ज विन्दुबाट ठूलो हिस्सामा वस्तु निर्यात हुन्छ । विभागको तथ्यांकअनुसार तीन विन्दुबाट क्रमशः २९.५२, २५.४२ र २१.२८ प्रतिशत वस्तु निर्यात हुने गरेको छ । ७ वटा भन्सार विन्दुबाट कूल निर्यात व्यापारको १ प्रतिशतभन्दा कम निर्यात हुने गरेको तथ्यांक छ ।

वस्तु निर्यातमध्ये सबैभन्दा धेरै पामको तेल विदेश जान्छ । यसबाहेक धागो, गलैंचा, चिया–कफी, फलाम तथा स्टीलका सामग्री बढी निर्यात हुन्छन् ।

निर्यात व्यापार शून्य भएका भन्सार कार्यालयमध्ये अधिकांश चालु आर्थिक वर्षभित्रै स्तरोन्नती गरिएका हुन् । यसअघि छोटी भन्सारका रुपमा रहेका यी कार्यालयलाई यसै आर्थिक वर्षमा भन्सार कार्यालयका रुपमा स्तरोन्नती गरिएको थियो । भद्रपुर, ठाँडी, महेशपुर, सुठौली र सती भन्सार यसै वर्ष स्तरोन्नती गरिएका हुन् ।  
भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट झण्डै १ सय मुलुकमा नेपाली सामान निर्यात हुन्छन् । यसमध्ये ठूलो हिस्सा भारत, चीन, अमेरिका, जर्मनी, टर्कीलगायत देशको छ ।

 

तपाईंको बिचार