Sunday, August 25, 2019

मदन भण्डारीले भनेको कुरालाई छाड्न मिल्दैन :प्रधानमन्त्री ओली

प्रकाशित मिति: 2019/05/17

३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत पार्टीले जननेता मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने प्रष्ट पारेका छन् । 

तर,भण्डारीले हिजो जे भनेका थिए, त्यहीमात्र अन्तिम नभएको उनले बताए । एक वर्ष लगाएर पार्टीको सांगठनिक एकता टुंग्याएसँगै नेकपामा वैचारिक बहस सुरु भएको छ । २६ औं मदन आश्रित स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित स्मृतिसभामा पनि त्यो झल्कियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको विचारमात्र बोकेर बस्ने कि अघि बढ्ने भन्ने प्रश्न गरेका थिए ।
अर्का अध्यक्ष ओलीले भण्डारीको विचार छाड्न नमिल्ने जवाफ दिए । उनले भने, ‘अध्यक्ष कमरेड प्रचण्डले भने जस्तै जबजलाई सुत्रको रुपमा घोक्ने, कण्ठ गर्ने वा मदनले हिजो जे भन्नुभयो, त्यहिमात्र अन्तिम होइन । हामी उहाँको बिचारलाई मागर्दर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्छौं ।’

उनले अघि भने, जननेता भण्डारीले अघि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन र छाड्नै मिल्दैन ।’

मदन आश्रित स्मृति दिवसको कार्यक्रममा अर्का अध्यक्ष प्रचण्डले पार्टीको विचारबारे अधिकांश समय बोल्दा ओलीले भने सरकारका कामकारवाहीको बचाउमा समय खर्चिए ।
जनतामा निराशामा बाँड्ने र समाजमा अराजकता सिर्जना गर्ने प्रयास भइरहेको भन्दै उनले सिंगो पार्टी एकजुट भएर विपक्षीका भ्रम चिर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक बनाउने प्रयास भइरहेको छ । यस्ता कुरामा हाम्रो पार्टी सजग र एकताबद्ध ढंगले अघि बढ्नुपर्छ । गणतान्त्रिक संस्था र पद्धति विरुद्धको सुनियोजित प्रचारविरुद्ध पार्टी पंक्ति दृढतापूर्वक उभिनुपर्छ । अहिले राष्ट्रपति, उपराष्ट्रपतिको होइन । गणतान्त्रिक पद्धतिको बिरोध भइरहेको हो भनेर बुझनुपर्छ ।’

तपाईंको बिचार