Tuesday, June 25, 2019

मिडिया काउन्सील बिद्येयक ठिक छैन :बामदेब गौतम

प्रकाशित मिति: 2019/05/23

९ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले संसदमा दर्ता भएको मिडिया काउन्सिल कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक जस्ताको तस्तै अगाडि नबढाउन आग्रह गरेका छन् ।

गौतमद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियसभा सचिवायलयमा रहेको उक्त विधेयकका विवादास्पद प्रावधानहरु सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासँग छलफल गरी टुंगो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउन म नेपाल सरकार, सम्बन्धित सरकारी निकायलगायत सम्बन्धित सबैमा आग्रह गर्दछु ।’
विधेयकका कतिपय प्रावधान संविधानको अक्षर र भावना अनुरुप नभएको गौतमको निष्कर्ष छ । ‘उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता मैले देखेको छु’, उनले विज्ञप्तिमा लेखका छन् ।
सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग आफू पूर्ण सहमत भएको तर समय समयमा पेशाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता)बाट आफू पनि शिकार हुँदै आएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
समाचार लेखेकै कारण पत्रकारलाई दश लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था उचित नभएको गौतमको निष्कर्ष छ । बोल्न नसक्नेहरूका प्रतिनिधि, समाजका पहरेदार र ऐनाको रुपमा रहेको पत्रकारलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।

तपाईंको बिचार