Saturday, August 24, 2019

एकसाता भित्रै नाका खुलाउने चिनियाँ तयारीपछि गृहमन्त्री पुगे तातोपानी

प्रकाशित मिति: 2019/05/26

१२ जेठ, काठमाडौं । एकसाता भित्रै तातोपानी नाकाको सञ्चालनमा चिनियाँ पक्ष जुटेपछि नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र व्यावसायीहरु नाका अवलोकन गर्न पुगेका छन ।

आगामी साता नाका खुलाउने भएपछि त्यहाँको तयारीका विषयमा अवलोकन गर्न दुवै टोली शनिबार तातोपानी नाका पुगेको हो । अवलोकनपछि गृहमन्त्री थापाले नाका छिटो खुलाउन नेपाल सरकार तयार रहेको बताए ।
लामो समयदेखि बन्द रहेको नाका खुला भए दुवै देशलाई राम्रो हुने भन्दै यसका लागि नेपाल सरकारबाट गर्नुपर्ने काम भइरहेको समेत बताए । नाका सञ्चालनमा आएपछि हुने सुरक्षा लगायतका कामहरु गर्न सरकार प्रतिवद्ध रहेको उनले जानकारी दिए ।
नाका सञ्चालनमा आएपछि सामानहरुको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने व्यवसायीहरुले माग गरेका थिए ।
अवलोकनका लागि नेपाल राष्ट्रिय व्यवसायी महासंघका पदाधिकारीहरु तातोपानी नाका पुगेका थिए । महासंघका अध्यक्ष नरेश कटुवालले नाका सञ्चालनमा आएपछि भन्सार र व्यवसायीहरुको सीधा पहुँच हुनुपर्ने बताए ।
भन्सारमा विचौलियाहरुको विगविगी हुने गरेको भन्दै अध्यक्ष कटुवालले विचौलियालाई बाहिर खेदाएर व्यवसायीहरु आफैंले भन्सार छुटाउन सक्ने वातावरण बनाउनु पर्ने बताए । नाका जेठ १७ गते  सञ्चालनमा आउने अनौपचारिक जानकारी आफूले पाएको भए पनि आवश्यक पूर्वाधार भने अझै अपुग भएको बताए ।

तपाईंको बिचार