Saturday, August 24, 2019

सुखी नेपाली बनाउने बाहेक अन्त ध्यान छैन :बिष्णु पौडेल

प्रकाशित मिति: 2019/05/27

१३ जेठ, बुटवल ।  नेकपा महासचिव विष्णु पौडेलले सरकारको ध्यान ‘समृद्ध नेपाल, सुखी नेपाली’ बाहेक अन्त नरहेको बताएका छन । आगामी वर्षलाई तीब्र विकास र प्रगतिको बर्षका रुपमा सदुपयोग गर्न चाहेको उनको दाबी छ ।

बुटवलको रामनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै पौडेलले सरकारको नीति तथा कार्यक्रम जनतामैत्री रहेको उल्लेख गरे ।
विरोधीहरुले धेरै हल्ला चलाए पनि नेपालको विकासको दर,जीडीपी बढेकोमा खुसी ब्यक्त गरे । उनले विकास र समृद्धिका लागि दलभन्दा माथि उठेर सामूहिक भावनामा केन्द्रित हुन पनि सबैलाई आग्रह गरे ।
विकासमा रुपन्देहीले फड्को मारेको भन्दै पौडेलले सोमबार शिलान्यास गरिएको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको निर्माणको गुणस्तरमा कुनै किसिमको सम्झौता नहुने बताए । उनले २७ महिनाभन्दा १ दिन पनि नथप्ने गरी निर्माण गर्न आग्रहसमेत गरे ।

प्रदेश ५ का वासिन्दाले प्रदर्शनी केन्द्रलाई गौरवको रुपमा मान्नुपर्ने भन्दै पौडेलले क्षमता, आधुनिकताका हिसावले नेपालकै पहिलो केन्द्र भएको दाबी गरे । १ अर्ब ५ करोड रुपैयाँ लागतमा केन्द्रको निर्माण हुने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।
निर्माणका लागि रामनगरमा रहेका ५ सय रुख कटान गर्नका लागि इआइए सम्पन्न भइसकेको शहरी विकास तथा भवन निर्माणका निर्देशक मनिराम गिलालले बताए ।

तपाईंको बिचार