Saturday, August 24, 2019

धरौटी रकमको व्याज पाउने पर्ने माग गर्दै म्यानपावर व्यावसायी आन्दोलनमा

प्रकाशित मिति: 2019/05/31

१७ जेठ, काठमाडौं । विभिन्न माग राखेर आन्दोलन घोषणा गरेका म्यानपावर व्यवसायीले विदेश जाने भिसा लागेका कामदारको टिकट काट्न बन्द गरेका छन् । अब एक हप्ताभरि कुनै पनि कामदारको विदेश जाने टिकट काटिने छैन ।

वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङले एक हप्तासम्म कामदारलाई विदेश जान रोकिएको बताए । जेठ २३ गतेसम्म पनि माग सुनुवाई नभए अझै कडा संघर्षका कार्यक्रम सार्वजनिक गरिने उनको भनाइ छ ।
व्यवसायीले आफ्नो मागपत्र प्रधानमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा यसअघि नै बुझाइसकेका थिए । तर, अल्टिमेटम दिएको मितिसम्म पनि कुनै पहल नभएपछि आन्दोलनमा आउनुपरेको अध्यक्ष गुरुङले बताए ।


संघले अबको एक हप्तासम्म पनि मागको सुनुवाई नगरे वैदेशिक रोजगरका सबै प्रक्रिया ठप्प पार्ने चेतावनी दिएको छ ।
हाल सरकारले नयाँ व्यवस्थामार्फत राख्न लगाएको धरौटीमा ब्याज पाउनुपर्ने व्यवसायीको मुख्य माग हो । तर, वैदेशिक रोजगार नियमावलीमा व्यवसायीलाई धरौटीमा ब्याज दिने व्यवस्था छैन ।
यसैलाई देखाएर सरकारले व्यवसायीको माग पुरा गर्न नसकिने बताएको छ । तर, संघका अध्यक्ष गुुरुङ नियमावलीमै संशोधन गरेर भए पनि ब्याज आफूहरुले पाउनुपर्ने बताउँछन् ।
‘शैक्षिक संस्था, बीमाको व्यवसाय गर्नेले धरौटीको ब्याज पाउँछ, अनि हामी चाँही सौताका छोरा ?’ गुरुङ भन्छन ‘अरुले पाउने, हामीले नपाउने किन ?’

व्यवसायीले धरौटी र्पुयाउन नसकेर मर्जमा जानेहरुलाई उपयुक्त छुटसुविधा र सहुलियत दिनुपर्ने माग पनि गरेका छन् । यस्तै एक वर्षदेखि बन्द रहेको मलेसियामा कामदार पठाउने प्रक्रिया खुला गर्न पनि उनीहरुको माग छ । मलेसिया बन्द हुँदा धेरै व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको भन्दै संघले कामदारलाई पनि सास्ती भएको बताएको छ ।

तपाईंको बिचार