Thursday, October 24, 2019

चिनसँगको हवाई सम्झौता पुनरावलोकन गर्ने तयारी

प्रकाशित मिति: 2019/05/31

१७ जेठ, काठमाडौं । नेपाल र चीन सरकारबीच हवाई सेवा सम्झौता पुनरावलोकन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सम्झौता पुनरावलोकन गर्न आगामी साउन ७ र ८ गते चीनको राजधानी बेइजिङमा वार्ता हुँदैछ ।

बेइजिङ वार्ताबाट सन् २०१४ मा भएको पछिल्लो सम्झौतालाई संशोधन गरिने मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । सन् २०१४ मा नेपाल र चीनबीच सातामा ५६   उडान गर्न सकिने गरी सम्झौता भएको थियो । यो सहमतिबाट बढाएर सातामा ७० उडान र्पुयाइएको छ ।

अहिले चीनबाट नेपालमा साताको ५६ वटै उडान हुन्छ । तर, नेपाली कम्पनीलाई भने चीनले सहज वातावरण बनाउन सकेको छैन । सम्झौता अनुसार दुबै मुलुकका वायुसेवा कम्पनीले समान संख्यामा उडान गर्न पाउँछन् ।

अब नेपाल र चीनबीच उडानका लागि निश्चित विमानस्थल नतोकी वायुसेवा कम्पनीहरु जुनसुकै विमानस्थलमा जानसक्ने गरी सम्झौताको तयारी गरिएको छ । सहसचिव आचार्यका अनुसार नयाँ सम्झौतापछि चीनका वायुसेवा कम्पनी काठमाडौंपछि निर्माणाधीन गौतमबुद्ध र पोखरा विमानस्थलमा जान सक्नेछन् ।

  काठमाडौंमा भने त्रिभुवन विमानस्थलको अधिक चापका कारण नयाँ वायुसेवा कम्पनीलाई स्लट (उडान–अवतरण गर्न समय) उपलब्ध गराउन मुस्किल रहेको मन्त्रालयको भनाई छ । अहिले चीनबाट ५ वटा वायुसेवा कम्पनीले नेपालमा उडान गरिरहेका छन् । चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन् । नेपालबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स चीन जान चाहे पनि व्यस्त विमानस्थलहरुले स्लट दिन नसक्दा उडान हुन सकिरहेको छैन ।

 

तपाईंको बिचार