Sunday, October 20, 2019

असार १ बाट दिउँसो मालबाहक सवारी सञ्चालनमा रोक

प्रकाशित मिति: 2019/06/02

१९ जेठ, काठमाडौं । आगामी असार १ गतेबाट काठमाडौंमा विहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारीको प्रवेश तथा सञ्चालनलाई निषेध गरिने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन पाइने छैन ।
यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ । आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग भएका बाहेकका सवारीलाई तोकिएको क्षेत्रमा बिहानदेखि साँझसम्म प्रवेश र सञ्चालन नगर्न विभागले सूचित गरेको छ । दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला पानी, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारीलाई भने रोकिने छैन ।

काठमाडौंको मुख्य नाकामा जामको समस्या तीव्र भएपछि विभागले यस्तो कदम चालेको हो । काठमाडौं उपत्यकाभित्र मालबाहक सवारीको संख्या बाक्लिँदै गर्दा त्यसले रिंगरोड क्षेत्रमा पनि जाम बढेकाले नाकाहरुमै रोक्ने गरी निर्णय भएको विभाग स्रोतले जनाएको छ । काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुनेछ ।

त्यसैगरी चक्रपथ बाहिरको चाबहिल जोरपाटी सडक, गोपीकृष्ण कपन सडक, नारायणगोपाल चोक बुढानीलकण्ठ सडक, बालाजु बाइपास गोलढुंगा सडक, बगडोल नख्खु सडक, सातदोबाटो हरिसिद्धी सडक, ग्वार्को चापागाउँ सडकमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी सञ्चालन गर्न रोकिने छ ।

 

तपाईंको बिचार