Sunday, August 25, 2019

कांग्रेसको जागरण अभियान प्रभावकारी हुन सकेन : प्रकाशमान सिंह

प्रकाशित मिति: 2019/06/03

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन् । संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठनलाई संविधान अनुरुपको संरचनामा लैजान नसक्नुले हाल सञ्चालन गरिएको जागरण अभियान प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

सोमबार बिहान ठमेलस्थित आफ्नै निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीहरुसँगको भेटघाटमा बोल्दै नेता सिंहले सो भनाइ राखेका हुन् ।
सरकारलाई खबरदारी गर्न र पार्टी सदृढ गर्न भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गत वैशाख २५ गदेदेखि देशव्यापी जागरण अभियान चलाइरहेको छ ।

संविधानअनुसार पार्टीको संरचना नबनाउँदा धेरैलाई जिम्मेवारी दिन नसकिएको र पार्टी नेताकार्यकर्ताहरुमा निराशा छाएको उनले बताए । ‘आफैंले जारी गरेको संविधान प्रभावकारी रुपमा लागू गराउनु पर्ने अवस्थामा कांग्रेस झनै आफैंभित्र अलमलिएको अवस्थामा रहनुले आम लोकतन्त्रवादीहरुमा समेत निराशा छाएको छ,’ उनले भने ।
कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले पार्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिङ्ग अवस्थामा पुगेको बताए । कांग्रेसलाई बिचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन खोजिएकाले निराशाजनक अवस्था आएको उनको भनाइ छ । उनले यसलाई गम्भीरतापूर्वक लिनु पर्नेमा जोड दिए ।

तपाईंको बिचार