Tuesday, June 25, 2019

बिप्लप समुह आक्रामक बन्दै : सोलुखुम्बुमा प्रहरी चौकी कब्जामा लिने प्रयास

प्रकाशित मिति: 2019/06/03

२० जेठ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको   समूहले सोलुखुम्बुको विकट क्षेत्रमा गतिविधि बढाएको छ ।
जिल्लाको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको स्रोतले बतायो ।
तर, त्यसबारे अग्रिम सूचना पाएपछि प्रहरी टोली आइतबार दिउँसै अन्यत्र भागिसकेको एक उच्च सुरक्षा अधिकारीले बताए । ती अधिकारीले त्यो अज्ञात समूह चौकीभित्र छिरे पनि कागजपत्र वा अन्य केही सामान तोडफोड भएको नदेखिएको बताए ।
उनका अनुसार थप अनुसन्धानका लागि काठमाडौंबाट समेत सुरक्षाकर्मीको टोली पठाइएको छ ।
महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले पछिल्लो समय गाउँपालिकाको केही वडामा विप्लव समूहको गतिविधि बढेको पुष्टि गरे । गएराति भएको घटनाबारे भने अहिलेसम्म यथार्थ विवरण आइनसकेको उनले बताए । यद्यपि, उनले गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गस्ती बढाएको भने स्वीकारे ।
नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको छ ।
सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो ।

तपाईंको बिचार