Sunday, August 25, 2019

बर्ष २०१९ मा ७ दशमलब १ प्रतिशत आर्थिक बृद्धि हुने बिश्व बैङ्कको प्रक्षेपण

प्रकाशित मिति: 2019/06/06

२३ जेठ, काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष (२०१९) मा नेपालमा ७.१ प्रतिशतको आर्थिक वद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सेवा र कृषी क्षेत्रको योगदानको बलमा नेपालको अर्थतन्त्रको विस्तार द्रुत गतिमा हुन थालेको जनाएको छ ।
एक प्रतिवेदन सार्वजनिक गर्दै सेवा क्षेत्रमा मात्रै ७.५ प्रतिशतले विस्तार हुने भन्दै विश्व बैंकले खुद्रा ब्यापार, होटल र रेस्टुरेन्ट लगायतको उपक्षेत्रमा पनि प्रगति भएको उल्लेख गरेको छ ।
पर्यटन आगमन बढेको र त्यसले पनि सेवा क्षेत्रको विस्तारमा योगदान दिएको विश्व बैंकले जनाएको छ । यस्तै रेमिट्यान्सको वृद्धिले निजी उपभोगमा पनि वृद्धि गरेको बैंकले बताएको छ ।
कृषि क्षेत्रमा मात्रै ५ प्रतिशतको वृद्धि देखिने भन्दै उसले यो ३० वर्षको औसत ३.१ प्रतिशत भन्दा उच्च भएको बताएको छ । यसका लागि सही समयमा भएको राम्रो वर्षा पनि कारण रहेको बैंकको ठहर छ ।

यस्तै बढ्दो ब्यापारीकण, मल र बीउको सहज उपलब्धता, सिँचाइ पूर्वाधारको विस्तारले कृषि क्षेत्रको विस्तार गर्न सहयोग पुगेको रिपोर्टमा उल्लेख छ ।

उसले औद्योगिक उत्पादनको वृद्धिदर पनि सुखद रहेको बताएको छ । यो वर्ष ८.१ प्रतिशत औद्योगिक वृद्धिदर हात लाग्ने उसको प्रक्षेपण छ । विजुलीको सहज उपलब्धताका कारण यस्तो अवस्था बनेको ठहर विश्व बैंकको छ ।

निजी लगानी र उपाभोग बढनुले नै ७ अंक माथिको आर्थिक वृद्धिको मुख्य भूमिका खेलेको विश्व बैंकको निश्कर्ष छ ।

उसले यो वर्ष ४.१ प्रतिशतको मूल्यवृद्धि हुने बताएको छ । यो वर्ष औद्योगिक वस्तुको आयात बढ्दा त्यसको लाभ अर्थतन्त्रलाई भएको रिपोर्टमा उल्लेख छ ।

सरकारी खर्च राम्रो नभएको भन्दै विश्व बैंकले तामाकोशी र मेलम्ची जस्ता ठूला परियोजना पछि धकेलिएको उल्लेख गरेको छ ।

 

तपाईंको बिचार