Sunday, October 20, 2019

काठमाडौंमा रात्रीबस चलाउने तयारी

प्रकाशित मिति: 2019/06/10

२७ जेठ, काठमाडौं । सरकारले काठमाडौंमा रात्रीबस सञ्चालनको तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले रात्री बस सेवा सुरु गर्ने प्रस्ताव गरेपछि झण्डै एक दर्जन यातायात कम्पनीले त्यसमा चासो दिएका छन् ।
काठमाडौंमा अधिकांश रुटमा रातको ८ बजेपछि गाडी पाउन मुस्किल पर्छ । बेलुकीको समयमा जस्तोसुकै भीड भए पनि सवारीहरुमा यात्रु कोचिएर यात्रा गर्न बाध्य छन् । बस छुटेका यात्रु ट्याक्सीको तेब्बर भाडाको आतंक र मोलमोलाइबाट प्रताडीत छन् ।
यस्तो अवस्थामा विभागले रातमा पनि बस सेवा सञ्चालन गर्न प्रस्ताव गरेको हो । यसका लागि सोमबार विभागले इच्छुक कम्पनीसँग छलफल गर्न लागेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

उनका अनुसार स्वयम्भु यातायात, महानगर यातायात, साझा यातायात लगायतका कम्पनीले रात्री बस सेवा सञ्चालनमा चासो देखाएका छन् ।

रात्री बस चलाउन योपटक सरकारले व्यवसायीलाई अतिरिक्त सहुलियत दिँदैछ । जसअनुसार रात्री बस चलाउने बसलाई साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिने अधिकार दिइनेछ
‘काठमाडौं ८ बजे नै बन्द हुन्छ, अन्य देशमा राजधानी यति छिट्टै सुस्ताउँदैन,’ उनले भने, ‘राजधानीको अर्थतन्त्र विस्तारका लागि पनि ‘नाइट लाइफ’ सुरु गर्नुपर्छ । त्यसका लागि प्रमुख भूमिका यातायातकै हुन्छ ।’

राति १२ बजे पनि सजिलै बस चढेर यात्रा गर्न पाइने अवस्था भए रात्री जनजीविन अझै लम्बिने र त्यसले यातायातमा यात्रुको व्यवस्थापन पनि निकै सहज हुने उनको भनाइ छ ।

व्यवसायीहरु साविकको भन्दा दोब्बर भाडा उठाउन दिइए राति १२ बजेसम्म बस चलाउन सकिने बताएका छन् । ५० प्रतिशत मात्रै बढी भाडा लिँदा फेरि केही समयपछि घाटा भएर बन्द गर्नुपर्ने अवस्था आउने उनीहरुको चिन्ता छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला हालको रुटमा कायम भएको भन्दा सय प्रतिशत बढी भाडा लिन दिनुपर्ने बताउँछन् ।

‘हामीले विगतदेखि नै भन्दै आएका छौं कि साविकककै भाडामा राती बस चलाउन सकिन्न,’ उनले भने, ‘सर्वसाधारणले पनि बुझ्नुपर्छ कि राति ट्याक्सीले लिने त्यही रुटको भाडा र बसको भाडा धेरै अन्तर हुन्छ ।’

काठमाडौंमा रात्री बस चलाउने प्रयास गरिएको यो पहिलोचोटि होइन । केही समयअघि साझा बसले राती ९ बजेसम्म सेवा दिन सुरु गरेको थियो । तर, आर्थिक रुपमा फलदायी नभएपछि उसले सेवा नै स्थगन र्गयो ।

यसअघि पनि काठमाडौंमा रात्री बस सेवा सञ्चालन गरिएको थियो । तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा ०६९ को भदौमा रात्रीकालिन बस सेवा प्रारम्भ भएको थियो । राति ३ घण्टा गाडी गुडाउन काठमाडौं महानगरपालिकाले यातायात व्यवसायी समितिहरुलाई ४५ लाख रुपैयाँ अनुदान दिएको थियो । ६ महिनाका लागि परीक्षण स्वरुप १४ वटा बस अनुदान दिएरै चलाइएको थियो ।

विभिन्न रुटठहरु तोकेर बस चलाइए पनि व्यवसायीले अनुदान लिएर केही समयपछि यात्रु नपाएको भन्दै सेवा बन्द गरे । अनुदान पनि पचाए ।

त्यतिबेला दिउँसोकै भाडा दरमा १४ वटा बस सञ्चालनमा ल्याइएको थियो । प्रत्येक बसमा सुरक्षाकर्मी रहने र सीसी क्यामेराबाट निगरानी हुने व्यवस्था गरिएको थियो ।

अनुदान लिनका लागि बस चलाएका व्यवसायीले पछि अनुदान नपाउने अवस्था आएपछि बन्द गरिदिए । त्यसको सात वर्षपछि फेरि काठमाडौंमा बस रात्री बस चलाउने बहस थालिएको हो ।

तपाईंको बिचार