Thursday, July 18, 2019

रामेछाप लुक्ला उडान निरन्तर राख्न प्राधिकरणको निर्णय

प्रकाशित मिति: 2019/06/16

१ असार, काठमाडौं । काठमाडौंबाट लुक्ला जाने पर्यटकले जहाज चढ्न रामेछापस्थित विमानस्थल पुग्नुपर्ने व्यवस्थालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निरन्तरता दिएको छ । प्राधिकरणले अघिल्लो साता लुक्लामा उडान गरिरहेका चार वायुसेवा कम्पनीलाई पत्र पठाउँदै रामेछाप लुक्ला उडान निरन्तर राख्न भनेको हो ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलको धावनमार्गको पीच उप्काएर नयाँ बनाउनुपर्ने भएपछि बसन्त ऋतुमा हुने सगरमाथा आरोहण अवधिका लागि काठमाडौंबाट हुँदै आएको लुक्ला उडान रामेछाप सारिएको थियो । काठमाडौंमा धावनमार्ग मर्मतको काम १५ असारबाट सम्पन्न हुने बताइएको छ । त्यसपछि त्रिभुवन विमानस्थल २४ सै घण्टा उडाउने योजना छ ।
तर, काठमाडौंको विमानस्थल २४ सै घण्टा चल्दा पनि यात्रुले लुक्ला जान भने रामेछाप नै धाउनुपर्ने भएको छ । प्राधिकरणले त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलमा बढ्दो चाप तथा ट्राफिक जामका कारण काठमाडौंबाट भइरहेको लुक्ला उडान रामेछाप सार्नुपरेको उल्लेख गरेको छ । पहिलो सिजन रामेछाप(लुक्ला उडान सफल भएकाले आगामी सिजनमा पनि यसलाई निरन्तरता दिइएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार काठमाडौंमा ट्राफिक चाप गराउने कारणमध्ये साना विमानस्थलमा काठमाडौंबाट हुने उडान पनि एक हो । लुक्ला विमानस्थलमा काठमाडौंबाट पर्यटकीय सिजनमा हरेक दिन ५० भन्दा बढी उडान हुने गरेको थियो । हिमाली र पहाडी भेगका साना विमानस्थलमा काठमाडौंबाट हुने अत्यधिक आवागमनका कारण अन्तर्रा्ष्ट्रिय र घरेलु उडान प्रभावित हुने गरेको प्राधिकरणले उल्लेख गरेको छ । काठमाडौंबाट नेपाल वायुसेवा निगम, तारा एयर, सीता एयर र समिट एयरले लुक्लाका लागि उडान गर्ने गरेका छन ।

 

तपाईंको बिचार