Wednesday, November 13, 2019

महाभारत क्षेत्रमा पर्यटन संभावनाकोे खोजि

डोर बहादुर के.सी
प्रकाशित मिति: 2019/07/22
नेपाल पर्यटन विकासको लागि भौगोलिक समृद्धि प्राप्त देश हो । हिमालय पर्वत श्रेणीको महत्वपुर्ण  भूभाग नेपालमा पर्नु, त्यसैको समानान्तर हुने गरि पुर्व देखि पश्चिम सम्म नागवेली रुपमा खडा भएको महाभारत पर्वत श्रेणी र तराईको विशाल समथर भूमी सबैको आ–आफ्नै ठाउ‘मा ठूलो पर्यटकीय महत्व छ । भौगोलिक विविधतामा अपार पर्यटकीय संभावना बोकेको महाभारत क्षेत्रको पर्यटन विकासको थप खोजिमा जुट्नु  पनि अहिलेको आवश्यकता हो ।
 
सामान्यतयः महाभारत क्षेत्र पुर्व देखि पश्चिम सम्म १५०० मीटर देखि ३००० मीटरको उचाईमा अवस्थित छ । यस क्षेत्रमा अग्ला पहाड, खोंच, उच्च क्षेत्रका घॉसे मैदान तथा खर्कहरु पर्दछन् । यहॉको हावापानी प्रायः शीतल र रम्यभई पर्यटकमैत्री पाईन्छ भने हिंउद याममा केहि उच्च भागमा हिंउ समेत पर्दछ । तराई र हिमाली क्षेत्रको जस्तो  गर्मीमा अत्यन्त गर्मी र जाडोमा अत्यधिक जाडोको अवस्था नहुने भएकोले यो क्षेत्रको पर्यटन विकासको पहिलो आधार यहॉको हावापानी र बनस्पतिलाई मान्न सकिन्छ । बसन्त ऋतुमा विभिन्न रङ्गमा ढकमक्क फुल्ने लालीगुराँस लगायत  विभिन्न प्रजातीका फूल तथा वनस्पतीले महाभारत क्षेत्रलाई मनमोहक रुपमा सिंगारेको पाईन्छ । यो क्षेत्रको पर्यटन विकासको दोस्रो आधार भनेको यहॉबाट देखिने प्राकृतिक दृश्य हो । यो क्षेत्रलाई नेपालको पर्यटकीय हिल स्टेशन अथवा स्वर्ग हेर्ने आँखिझ्याल  भनेर पनि भन्न सकिन्छ । ऑखाको सामु देखिने हिमालयन पर्वतमालाको मनोरम दृश्य , उत्तर देखि दक्षिण सम्म लमतन्न पसारीएका हरियाली पहाड अनि त्यसको खाेंचबाट निस्कने नागवेली रुपमा बगेका नदी, खोला, फॉट र तराईको समथर भूभागको एकै नजरमा यस क्षेत्रबाट अवलोकन गर्नु सबैको लागि कम मनमोहक छैन । सनराईज र सनसेटको  मनोरम दृश्यबाट आनन्द लिनेहरुको लागि पनि सो क्षेत्र थप आर्कषणको केन्द्र हो । पर्यटन विकासको तेस्रो र महत्वपुर्ण आधार भनेको यहॉको बसोबास, मानव संस्कृति र जीवनशैली हो । यो क्षेत्रमा पूर्व देखि पश्चिमसम्म कमशः  किरॉत, राई, शेर्पा, तामाङ्ग, गुरुङ्ग, मगर जनजाती र पश्चिमी भेगमा बाहुन क्षेत्रीको बाहुल्यता छ । आफ्नो बेग्लै भेष–भूषा र आफ्नो छुट्टै  पहिचान भएका यी जात जातीहरुको दैनिक रहन शहन, जीवनशैली र संस्कृतीको अध्ययन, अवलोकन र उनीहरुबाट पराम्परागत रुपमा उत्पादित वस्तु तथा समाग्रीहरुको उपयोग पनि महाभारत क्षेत्रको रोचक पक्ष हो । ऐतिहासिक रुपमा विकास भएका विभिन्न दरवार, कोत, गढी, मठ, मन्दिर, पाटी,पौवा यस क्षेत्रका थप गहनाहरु हुन् । घनारुपमा विकास  हु‘दै गईरहेका तराईका शहरबाट मात्र नभई भारतीय पर्यटकहरु समेत सजिलै केहिदिनको लागि रात विताउने गरि यस क्षेत्रमा सजिलै आउन सक्छन ।
 
हालको संघीय भौगोलिक संरचना भित्र  रहेर हेर्दा  प्रदेश नम्बर एक अन्तरगतका  पाथिभरा, मिल्के, जलजले क्षेत्र, ईलामको चिया बगान, धनकुटाको हिले, भेडेटार,  खोटाङ्गको हलेसी, टेम्के, सोलुको साल्पा, पिके, दोलखाको सैलुङ्ग, आदि । प्रदेश नम्बर तीनमा सिन्धुली गढी, काभे्रको बल्थली, भक्तपुरको नगरकोट, काठमाण्डौंको वरिपरि रहेका पहाडहरु ककनी, हात्तिवन, चन्द्रागिरी, पुलचोकी, शिवपुरी, लाकुरी भन्ज्याङ्ग मकवानपुरको दामन, चितवनको सिराईचुली आदि । प्रदेश नम्बर चार अन्तरगत गोरखाको मनकामना तथा दरवार क्षेत्र , तनहुको बन्दिपुर, लम्जुङ्गको घलेगाउ‘, लिगलिग कोट, कास्कीका रानीवन, पञ्चासे,साराङ्गकोट, पुनहिल, बाग्लुङ्गको ढोरपाटन, जलजला क्षेत्र आदि । प्रदेश नम्बर पॉच अन्तरगत पाल्पाको तानसेन,बतासे डॉडा, गुल्मीको तम्घाँस तथा रेसुङ्गा क्षेत्र, मदाने संरक्षण क्षेत्र, कंकेदेराली, अर्घाखॉचीको नरपानी, अर्घाकोट, हिले, प्यूठानको गौमुखी, स्वर्गद्धारी,  रोल्पाको घर्तिगाउ‘ आदि । प्रदेश नम्बर छ अन्तरगत सल्यानको कपुरकोट, जाजरकोट आदि प्रदेश सात अन्तरगत डडेलधुरा,उग्रतारा,शाहीलेक, खप्तड क्षेत्र आदि ठाउ‘हरु महाभारत पर्वत श्रेणीका हिल स्टेसन तथा पर्यटकीय संभावना बोकेका केही उदारणीय क्षेत्रहरु हुन् र यस क्षेत्रमा यस्ता थुप्रै अन्य पर्यटकीय स्थलहरु छन् ।
 
विदेशी पर्यटक मात्र नभएर स्वदेशी पर्यटनाले पनि अर्थतन्त्रको विकासमा ठूलो महत्व राख्दछ । यसले थप रोजगारी सृजना गर्नुको साथै ब्यक्तिको आय आर्जनमा बृद्धि भई अर्थतन्त्रलाई गतिशील बनाउ‘छ । अहिले नेपालीको जीवन शैली पनि दिन प्रतिदिन रुपान्तरित हुदै गइरहेको छ । समय समयमा आफ्ना वाल बच्चाहरु लिएर घुम्न निस्कने प्रवृति बढ्दो छ । स्कूल, कलेज, एनजिओ ,आईएनजिओ तथा सरकारी, अर्धसरकारी कार्यालयका कर्मचारीहरुको डे हाईकिङ्ग गर्ने, घुम्ने अनि घर बाहिर रात बिताउने प्रबृति बढ्दो छ।  कतिपय प्रदेश सरकारले आफ्ना कर्मचारीलाई बजेटमा पे लिभको घोषणा समेत गरिसकेको अवस्था छ । सरकारले पनि सन् २०३० सम्ममा नेपालीहरुको जीवन स्तरलाई मध्यमस्तरमा पुर्याउने लक्ष्य किटान गरी काम गरेको सवालमा नेपलीको खर्च गर्ने क्षमता बढ्दै जान सक्दछ । गैह्र आवसीय नेपालीहरु नेपालमा आई आफ्नो परिवारीक मिलनको समयमा भ्रमणमा लैजाने पनि धेरै छन् । उता भारतीय तथा चिनिया पर्यटन बजार पनि हामीबाट टाढा छैनन् । उनीहरुलाई समेत लक्षित गरी बिभिन्न टुर प्याकेजहरु अगाडि सार्न सकिन्छ । अहिले पश्चिमा पर्यटकहरुको रोजाई पनि उनीहरुको कार्यब्यस्थताको कारणले लामो टुर प्याकेजमा भन्दा छोटो–मिठो टुर प्याकेजमा नजर लगाउन थालेका छन् । लार्के पास, थोरङ्ग पास, गान्जला पास, थ्री पास, आदि जस्ता उच्च हिमाली ईलाकामा समय तथा स्वास्थयको कारण जान नसक्ने हरुलाई लक्षित गरि यस क्षेत्रमा विभिन्न पदमार्गहरु निर्मार्ण गदै छोटा खालका टे«किङ्ग तथा टुर प्याकेजहरु अगाडि ल्याउन सकिन्छ  । यस क्षेत्रमा अगाडि बढाउन सकिने अर्को महत्वपुर्ण  टुर भनेको माउन्टेन बाईकिङ्ग  हो । 
 
यस क्षेत्रमा पर्यटकीय पुर्वधार विकासको हिसाबले काठमाडौं तथा पोखरा आसपासका क्षेत्र केही अगाडि आएको देखिन्छ । हात्तिवन, नगरकोट, ककनी, धुलिखेल, दामन, सारङ्गकोट आदि स्थानहरु पर्यटकीय स्थलको रुपमा विकसीत भईरहेका छन् तर पनि एक अर्कोलाई जोड्न सक्ने पदमार्गको विकास हुन सकेको छैन । पुर्व देखि पश्चिम सम्म हामी स‘ग यस्ता खालका थुप्रै संभाव्य स्थलहरु भएकोले यसको पहिचान पहिलो आवश्यकता बनेको छ । सरकारले अगाडि सारेको पुर्व पश्चिम जोड्ने मध्य पहाडि राजमार्ग , मदन भण्डारी राजमार्ग तथा हिमालयन हरित पदमार्ग निर्माणले पक्कै पनि महाभारत क्षेत्रको पर्यटन विकासमा पनि थप टेवा मिल्ने छ ।  कथित सडक पुर्वधार विस्तारको नाममा विना अध्ययन र विना योजाना भईरहेको बुलडोजर संस्कृतीको विकासले भने यस क्षेत्रको  प्राकृतिक सौन्दर्यता मेटिदै गईरहेको छ । हाम्रा हरियाली पाखा पखेराहरु तथा प्राकृतिक बगैचाहरु पहिरोको चपेटामा  परी हाम्रा आँखाहरु बिझाउने हुन थालेका छन् । उर्जा क्षेत्रमा सबल बन्दै गईरहेको नेपालको वर्तमान परिपेक्षमा आगामी दिनमा यस क्षेत्रमा अवात जावत गर्ने माध्यम र पर्यटकलाई आकर्षण गर्न केवलकारको निमार्ण उत्तम विकल्प हुन सक्दछ । सरकार, स्थानीय सरोकारवाला तथा नीजिक्षेत्रको आपसी सहकार्यमा यो क्षेत्रमा आगामी विकासको कार्ययोजना अगाडि बढाउन ढिलो गर्नु हुदैन । सरकारले यस वर्षको बजेट मार्फत महाभारत क्षेत्रका संभाव्य पर्यटकीय स्थानहरुलाई  बिदा मनाउन उपयुक्त शितल आवसको रुपमा विकास गरिने कार्यक्रम अगाडि ल्याएको देखिन्छ । नेपाल सरकारले अगाडि सारेको सुखी नेपाली समृद्ध नेपालको मार्गचित्रमा महाभारत क्षेत्रको पर्यटन विकासले एउटा महत्वपुर्ण भूमिका खेल्न सक्छ । 
 
( लेखकः ईन्टरनेशनल ट्रेर्कस तथा गु्रपमा प्रबन्धक हुनुहुन्छ ।)    

तपाईंको बिचार