Sunday, October 20, 2019

नयॉ पर्यटन मन्त्रीका चुनौति र अवसर

डोर बहादुर के.सी
प्रकाशित मिति: 2019/08/01

पर्यटन मन्त्रालयले भर्खरै नयाँ नेत्रीत्व पाएको छ । गत फागुनमा हेलिकोप्टर दुर्घटनामा परी असामयीक निधन भएका माननीय पर्यटन मन्त्री स्व. श्री रविन्द्र अधिकारीको ठाउँमा उनकै समकालीन उर्जावान र उदयमान व्यक्तित्व माननीय श्री योगेश भट्टराईको आगमन भएको छ । उनको पर्यटन मन्त्रालयमा आगमान भईरहदा स्व. अधिकारीले अगाडि सारेका कतिपय अमुर्त कामहरुको चाङ्ग एकातिर छन् भने अर्कोतिर पर्यटन क्षेत्रमा पहिले देखिनै थाति रहेका चुनौतिहरुको गहन अध्ययन र विश्लेषण बाट सही निष्कर्षका साथ पर्यटन क्षेत्रलाई गति दिनु अर्को चुनौति पनि उहाँका सामु छ । 

सन् २०२० मा बीस लाख पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष घोषणा भई लक्ष्य प्राप्तिको लागि मिनट मिनटको समयको सदुपयोगको आवश्यकता छ । नेपाल भ्रर्मण वर्ष सफल पार्ने सवालमा सरोकारवाला निकायसँग गहन छलफल, प्रचार प्रसार तथा जिम्मेवारी बाँडफाडको सवालमा कदम चालिहाल्नु पर्ने अवश्यक छ । पर्यटक भित्र्याउनमा महत्वपुर्ण भूमिका खेल्नु पर्ने नेपालको राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाईन्स दिनानुदिन आर्थिक संकटमा फस्दै जानुको साथै कुहिरोमा हराएको कागजस्तै बन्दै गईरहेको छ । वाईड वडि जहाज निगमको लागि सेतो हात्ति सावित भई रहेको छ । निजगड अन्तराष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने विषय चुनौति पुर्ण हुदै गईरहेको छ ।  समयमानै सफलता पुर्वक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको काम सम्पन भएतापनि निजी क्षेत्रका आन्तरिक विमान कम्पनीहरु काठमाडौंमा एयर ट्राफिकको समस्या देखाउदै आवश्यक पर्यटक पुर्वधारको विकास विनै मुख्य पर्यटकीय सिजनमा रामेछापबाट लुक्ला तर्फको उडान भर्न हतार गर्दा टे«किङ्ग टुरअपरेटर तथा पर्यटकहरुमा एउटा अन्योलताको स्थिति छाएको छ । रामेछाप पुगेपछि प्रतिकुल मौसम हुंदाको अवस्थामा भर पर्दो विकल्प कसैले दिन सकेका छैनन् । नेपालको पर्वतीय पर्यटनको आधा हिस्सा ओगट्ने खुम्बु क्षेत्रको पर्यटन सहज हुन सकेन भने नेपालको समग्र पर्यटन क्षेत्रमा दुरगामी नकरात्क असर पर्ने निश्चित छ । नयॉ पर्यटन मन्त्रीबाट यी विषयको सम्बोधन कसरी हुने हो हेर्न बाकी नै छ ।

पर्यटन विकासको संख्यात्मक वृद्धिको लागि हामीले बेला बेलामा ठूलै ढोल पिटे पनि यसको गुणात्क वृद्धिमा हामीले कहिले पनि ध्यान दिन सकेका छैनौं । नेपाल भित्रिएका विदेशी पर्यटको बसाई अवधि लम्बाउन सकिरहेको अवस्था छैन । प्रति प्रर्यटक प्रति दिन खर्च गर्ने दर बढाउन सकिरहेको अवस्था छैन । विदेशी टुर अपरेटर र पर्यटकहरु माझ नेपाल एक सस्तो गन्तव्य स्थलको रुपमा मात्र प्रचार भईरहदा नेपाली टुर अपरेटर तथा सम्बन्धित क्षेत्रका व्यवसायीहरुमा गुणात्मक सुधारको पाटो चुनौती पुर्ण बन्दै गईरहेको छ । कसरी हुन्छ आफ्नो टुर प्याकेज राम्रो र आकर्षक बनाउन प्रतिस्पर्धा गर्नु पर्ने ठाउ‘मा सबैको ध्यान कसरी हुन्छ सस्तो बनाउनेमा मात्र लागि परेको देखिन्छ ।  पर्यटन क्षेत्रबाट लाभ लिने कुरा र राम्रो र दिगो पर्यटकीय उत्पादन तयार गर्ने सवालमा पर्यटन व्यवसायीहरु चुकि रहेको अवस्था छ । पर्यटन क्षेत्र सेवामुलक व्यवसाय भएकोले सेवाको मापन र मुल्य निर्धारणको  सवालमा स्पष्ट आधार तयार हुन सकेको छैन । पर्यटकहरुले सेवा र सुविधा छनोटको राम्रो अवसर प्राप्त गर्न सकिरहेका छैनन् ।  प्याकेज छनोटको एउटा मात्र आधार प्याकेजमा अंकित  मुल्यमात्र हुने गरेको छ र यसबाट कतिपय अवस्थामा पर्यटकहरु आफूहरु ठगीएको महसुस समेत गर्न बाध्य छन् । उता सस्तोको लागि मात्र प्रतिस्पर्धा हँुदा व्यवसायिक लाभ तथा श्रमिकहरुको सेवा सुविधाको विषय गौंड बन्दै गईरहेको छ । कतिपय अवस्थामा सस्तो प्याकेज बनाउन व्यवसायीहरुबाट राज्यलाई तिर्नु पर्ने कर तथा अन्य दायित्व सँग अनावश्यक सम्झौता समेत हुने गरेका कतिपय घटनाहरु सुनिने र देखिने गरेका छन् । विदेशी पर्यटन बजारमा नेपाल सस्तो गन्तव्य स्थलको रुपमा प्रचार भए पनि मुल्य नियन्त्रणको अभावमा समयसापेक्ष सस्तोमा राम्रो प्याकेजहरु तयार गर्ने र त्यसबाट सबै सरोकारवाला पक्ष लाभान्वित हुने अवस्था अहिलेको छैन । मर्यटन मन्त्रालयले यी विषमा पनि आफ्नो भूमिका देखाउनु पर्ने अवश्यक छ ।

देश संघीय संरचनामा अगाडि बढिरहेको वर्तमान स्थितिमा  स्थानीय तथा प्रदेश सरकारहरु क्रियाशील भईरहेको अवस्था छ । प्राय सबै प्रदेश सरकार तथा स्थानीय सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको कुरा उनीहरुको नीति तथा कार्यक्रम र बजेटबाट सुनिने र बुझिने गरिन्छ तर पर्यटकको रोजाई र खोजाईको विषय सम्बन्धि सामान्य जानकारी समेत कतिपय  निकायहरुलाई भईरहेको देखिदैन । उनीहरुमा अन्तर निकाय बिच आवश्यक समन्वय र सहकार्य गरेर पर्यटन विकासका योजनाहरु बनाृउन सकिरहेको अवस्था देखिदैन । कसरी हुन्छ भ्यूटार निर्माण र पार्क बनाएपछि पर्यटहरुको ओईरोनै लाग्छ भन्ने बुझाईबाट काम गर्ने होडनै चलेको अवस्था देखिन्छ । पर्यटन मन्त्रालय,पर्यटन बोर्ड तथा पर्यटन स‘ग प्रत्यक्ष सरोकार राख्ने टान, हान तथा अन्य संघ संस्थाहरुले समेत यसमा खासै सरोकार राखेको देखिदैन । उता जुन ठाउँमा पर्यटकहरुको स्वभाविक चाप हुने गरेको छ त्यसता क्षेत्रमा स्थानीय सरकारबाट आफुखुसी चर्को पर्यटन प्रवेश शुल्क लगाउने र त्यसको सदुपयोग गरेको पनि नदेखिदा पर्यटन क्षेत्रमा अन्योलताको स्थिति बढेको छ । माननीय मन्त्री ज्यु बाट यी विषयमा पनि पर्यटन क्षेत्रले स्पष्ट दिशानिर्देश खोजेको छ ।

नेपालमा पर्यटनको मुख्य आकर्षण क्षेत्र भनेको पर्वतीय पर्यटन तथा पदयात्रा हो ।  प्रत्येक गाऊँ तथा वस्तिहरुमा अहिले जसरी भएपनि सडक पुर्वाधारले जोडिनमा तछाड मछाडनै चल्दै छ । सडक पुर्वधार विना विकास संभव छैन भन्ने मान्यता सबै ठाउ‘मा स्थापित भईदिदा परमम्परागत रुपमा विकास भएका प्राकृतिक पर्वतीय पदमार्गहरु दिनानु दिन मासिदै गएका छन् । पुराना ऐतिहासिक संस्कृति र गौरव झल्कने  वस्ति तथा हरियाली पाखा पखेराहरुलाई अहिले बुल्डोर संस्कृतिको विकासले दिनानु दिन कुरुप बनाउदै गएको छ । मनोरम प्रकृतिक दृश्यमा रमाउने पर्यटकका ऑखाहरुमा अहिले सडकको धुलोले बिझाउन थालेका छन् । घन्टौं हिड्दा पनि नथाक्ने पर्यटकका पदहरु अहिले क्षेण भरमै लर्वराउन थालेका छन् । पदमार्गमा पर्यटकको सुविधाको लागि  खुलेका कतिपय लज तथा होटलहरु  विस्तारै आफ्नो ठाउँबाट विस्थापित हुदै गईरहेका पनि छन् । नयॉ नेत्रीत्वले अवश्य पनि स्पष्ट पर्यटन विकासको खाका अगाडि ल्याउन सक्नु पर्दछ ।

उल्लेखित चुनौतिका अलावा पनि भर्खरै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको यस वर्षको सुरुवाती सिजनको आंकडा हेर्दा पर्यटक आगवनको संख्या गत वर्षको भन्दा बढिनै छ । पर्यटकको आवश्यकता र महत्व सबै पक्षले अहिले राम्रो बुझेको अवस्था छ । भुकम्पले क्षती पुर्याएका मठ मन्दिर तथा पाटी पौवाहरुको पुनःनिर्माण कार्य धमाधम भईरहेको अवस्था छ । पर्यटकहरुले नेपाल भ्रर्मण गर्दा आफुलाई असुरक्षित ठान्नु पर्ने अवस्था अहिलेको छैन । भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माणले गति लिएको छ । त्रि.अ.विमानस्थलको धावनमार्गको तोकिएको समयमा भएको मर्मतले सुखद समाचार प्रवाह भएको छ । राजनैतिक स्थायित्वको आभास भईरहेको छ । आन्तरिक पर्यटन बजार फराकिलो बन्दैछ । सम्मानित अदालतले स्थानीय तहलाई पर्यटकबाट जथाभावी प्रवेश शुल्क नउठाउन आदेश समेत जारी गरेको छ । पॉच नम्बर प्रदेशले यस वर्षलाई लुम्बिनी भ्रमणवर्षको रुपमा मनाउदै छ ।  विविध आरोह र अवरोहका बिच राजनैतिक गतिरोधको अन्त्य भई एउटा स्पष्ट राजनैतीक दिशानिर्देश प्राप्त भएको छ । सुखि नेपाली समृद्ध नेपाल निर्माणमा पर्यटन क्षेत्रको अपरिहार्यताको वोध सबैलाई भएको छ  जुन अहिले पर्यटन क्षेत्रमा देखिएका सुखद समचार र हाम्रा नयॉ मन्त्रीले अवको फड्को मार्दा टेक्ने आधारहरु हुन् । 

पर्यटन क्षेत्रको विकासको अवको बाटो कसरी तयार गर्ने हो ? यसबाट सबै पक्षले अधिकतम लाभ कसरी लिन सकिन्छ ? हाम्रा कमी कमजोरीहरु कहाँ छन् ? पर्यटन पुर्वधार विकास र निर्माणको अवको बाटो कस्तो हुने हो ? भन्ने जस्ता थुप्रै विषयमा एकचोटी सरोकारवाला पक्ष सहितको बौद्धिक मन्थनबाट निचोड निकालेर सोहि अनुसारको नीति निमार्ण गदै दृढतापुर्वक अगाडि बढ्ने कुरामा हाम्रा पर्यटन मन्त्रीले अब ढिला गर्न हुदैन ।  अहिले यस क्षेत्रको पनि विकास र परिर्वतनको लागि  एक राम्रो सुखद अवसर प्राप्त भएको अवस्था छ । यसको सदुपयोग गर्न हामी कहिं कतै चुक्नु हुदैन । यसको यथोचित विकास बाटनै अबको नेपालको  उन्नती र समृद्धिको बाटो  पनि संभव छ । माननीय मन्त्री ज्यूले आफ्नो क्षमता प्रर्दशन गर्ने यो एउटा राम्रो अवसर हो ।

लेखकः इन्ट्रेक कम्पनी तथा समुहका प्रवन्धक हुनुहुन्छ ।

 

 

 

तपाईंको बिचार