Tuesday, September 19, 2017

नाकावन्दीको बेलामा मरिचमानलाई भेट्दा

प्रकाशित मिति: 2015/10/02

गणेश सिंखडा

पञ्चायतले आफ्नो शासन व्यवस्था लम्ब्याउन अन्तिम लडाइँ लड्दै थियो । ऊ निकै संकटबाट गुज्रिरहेको थियो, जनता आन्दोलित थिए । जनताको अधिकार स्थापित गर्ने आन्दोलनलाई उसले त्यतिबेला अराष्ट्रिय तत्व भन्थ्यो । संकटपूर्ण सत्तालाई बचाउन राष्ट्रियताको नारालाई जोड दिएको थियो । यता, भूगोलको सीमालाई बचाएरमात्र राष्ट्रियता बच्दैन भन्ने हाम्रो मान्यता थियो । उत्पीडित वर्ग र समुदायलाई अधिकार दिएमा जनता आफैँ समृद्ध हुन्छन र राष्ट्र पनि स्वाधीन हुन्छ भन्ने सोंच हामी राख्थ्यौं ।
त्यो निरंकुश पञ्चायती सत्ताको विरुद्ध विद्यार्थी आन्दोलनले गति लिदैं थियो । हामी आन्दोलनमा थियौं । शान्तिपूर्ण आन्दोलन गर्दा हामी जेल गयौं । त्यतिवेलै भारतले नेपाल सरकारका विरुद्ध नाकावन्दी चर्काे बनायो । व्यापार र पारवहन सन्धि एउटै हुनुपर्छ भन्ने उसको भनाइ थियो । त्यतिवेला नेपालले चीनबाट हतियार खरिद ग¥यो भन्ने उसको अर्को आपत्ति थियो ।
मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री थिए । निरंकुश र खराब पञ्चायत सत्ताका असल र स्वाभिमानी शासक थिए, उनी । उनले देश संकटका बेलामा सबै नागरिक मिल्नुपर्छ भन्ने अभियान चलाए । हामी जेलमा बस्दा भेट्न बोलाए । मरिचमान सिंहले भेट्न बोलाउँदा जाने कि नजाने भन्ने बहस भयो । हाम्रा तर्फबाट कृष्ण सेन, रमण श्रेष्ठ, तोयानाथ थपलिया, धर्मेन्द्र बास्तोला, सूर्यप्रकाश सुवेदी, महेश्वर दाहाललगायत थियौं । कैलाश कार्की, विनबहादुर कुँवर, हरि रोका, होमराज दाहाल, हरिहर दाहाललगायत अरु पक्षका विद्यार्थी, व्यवसायी थिए । मोहनचन्द्र अधिकारी, मार्शल जुलुम शाक्य,राधाकृष्ण मैनाली लगायत राष्ट्रिय नेता थिए ।
सबै पार्टीमा यो विषयमा मतभिन्नता भयो । राधाकृष्ण मैनाली, हामी भेटौं आफ्ना कुरा राखौं भनेर गयौं । मार्शल जुलुम शाक्य त मरिचमान सिंहसँग वार्तापछि अस्पतालको अस्पताल घर गए । तीर्थराम डंगोलहरुले त्यसको विरोध गरे ।
मरिचमान सिंहले त्यो बेलामा राष्ट्रियताका लागि सबै मिल्न र आफूलाई सहयोग गर्न भने । हामीले जनतालाई अधिकार दिएर देशलाई एकताबद्ध गर्न भन्यौ । कांग्रेस, वाममोर्चाले पछि भारतीय नाकावन्दीको समर्थन नै ग¥यो । हामी त्यसको विपक्षमा थियौं ।
राजनीतिक परिवेश बदलिएको छ । नाकावन्दीको तरिका बदलिएको छ । शासकहरु फरक छन्, तर राष्ट्रिय स्वार्थमा एक छन् । साना छिमेकी देशलाई स्वतन्त्र उभिन नदिने उनीहरुको रणनीति बदलिएको छैन् । जुन आधारमा टेकेर आज नेपालका शासक बनेका छन्, तिनले राष्ट्रियताको कुरा कति दिन टिकाउलान ? इमान्दार र स्वाभिमानी बनेमा मरिचमान सिंह जस्तै कुनामा पुग्ने होलान । सम्झौता नै गर्ने हो भने लामो दुःख नदेऊ नेपाली शासकहरु । पञ्चायतकालमा एक वर्ष खेपेका थिए जनताले नाकावन्दी तर अहिले १५ दिन गुजार्न नसकिने गरी परनिर्भर भइसकेछ, हाम्रो वजार, अर्थतन्त्र र संस्कार पनि ।
चेतना, संस्कारबाट पराधीनताको साङ्लाले बाँधिएका नेपाली शासकले स्वाधीनताको नारा कसरी कार्यान्वयन गर्लान खोई ? कृष्ण सेनले भनेका थिए– ‘शिकारीले बाँधेको छाँद होस या आफ्नै फाँद होस, के फरक पर्छ र मित्र ! अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी जहाँ गुजारे पनि त्यो जेल हुन्छ ।’ शिकारीले बाँधेको भन्दा पनि आफैंले बाँधेको फाँद झन् त्यो खतरा हुन्छ । भारतले गरेको नाकाबन्दी भन्दा यतिवेला हाम्रा शासकहरुको राष्ट्रिय आत्मसमर्पणबादी चिन्तन बढी खतरनाक छ । जनता अर्काको सिकञ्जामा कसिएका छन्, मुक्त हुन जुर्मराएका छन, हिजो पनि जुर्मुराएका थिए । तर, शासकहरुसँगको मुक्त हुने योजना खोई ? मरिचमानले कोशिश गरेका थिए, तर उनीसँग त्यो आधिकारिकता, शक्ति भएन । शासक होइन पछिल्लो समय असल जनता बनेर बसे । गुमनाम भएर नै मरे । 
(लेखक नेपाल पर्यटन व्यवसायी मञ्चका अध्यक्ष हुनुहुन्छ)

 

तपाईंको बिचार