Sunday, October 20, 2019

पर्यटनको विकासमा गाईडको भूमिका

डोर बहादुर के.सी
प्रकाशित मिति: 2019/08/05

नेपालमा पर्यटन तुलनात्मक लाभ र रोजगारको राम्रो सम्भावना भएको क्षेत्र हो । पर्यटक गाईड त्यसबाट प्रत्यक्ष लाभ लिन सक्ने एक वर्ग हो । पर्यटक गाईड भन्नाले पारिश्रमीक लिएर पर्यटकको भ्रमणमा सहजीकरण गर्ने, मार्गनिर्देशन गर्ने लाईसेन्स प्राप्त ब्यक्ति भनेर बुझिनु पर्दछ । पर्यटक गाईडलाई पर्यटन सँग सम्बन्धित ऐन, नियमावली र निर्देशीकाहरुले कामको प्रकृति अनुसार टुरिष्ट गाईड, टुर गाईड, सरदार, पर्वतीय पथपर्दशक (टेकिङ्ग गाईड), माउन्टेन गाईड, रिभर गाईड, पोर्टर गाईड भनेर विभिन्न पद तथा पेशामा वर्गिकरण गरेको पाईन्छ । नेपालमा हालसम्म प्रचलनमा रहे अनुसार आधुनिक सवारी साधन उपलब्ध भएका प्राचिन मठ–मन्दिर, गुम्बा, स्मारक आदि स्थलको अध्ययन, अवलोकन तथा दृश्यावलोकन गराउने काम र कार्यक्षेत्र टुरिष्ट गाईडको, आधुनिक सवारी साधन उपलब्ध  नभएका पहाडि तथा पर्वतीय ईलाकाको पदयात्रा तथा भ्रमण गराउने काम र कार्यक्षेत्र टेकिङ्ग गाईडको, हिमाल आरोहण गराउने काम माउन्टेन गाईडको, जल क्षेत्रको कार्यक्षेत्र रिभर गाईडको र व्यक्तिगत पदयात्रामा निस्कने पदयात्रीको काम पोर्टर गाईडको जिम्मेवारीको रुपमा अगाडि आएको देखिन्छ । 

गाईड पर्यटक सँग प्रत्यक्ष संलग्न रहेर कामकाज गर्ने ब्यक्ति भएको हुनाले पर्यटन विकासको सवालमा उनीहरुले दिने जानकारी, उनीहरुले देखाउने ब्यवहार तथा उनीहरुको शिप र दक्षताले विशेष महत्व राख्छ । गाईडको कामलाई सरल र संकुचित अर्थमा मात्र बुझिनु र ब्यवहार गरिनु यस पेशा प्रतिको अपमान मात्र होईन समग्र पर्यटन क्षेत्रको विकासमा समेत बाधक तत्व हो तसर्थः पर्यटक गाईडको भूमिका र जिम्मेवारीलाई अलि ब्यापकरुपमा अगाडि सारिनु  पनि नेपालको पर्यटन क्षेत्रको विकासमा एक महत्वपूर्ण विषय हुन सक्छ ।

नेपालमा पर्यटनको लागि खुला भएसँगै पर्यटक गाईडको पनि आवश्यकता अगाडि आएको हो । २००७ सालमा राणा शासनको अन्त्य भई अन्तर्राष्ट्रिय जगतमा नेपालले प्रवेश पाए पछि विकास हुन गएको नेपालको पर्यटन क्षेत्रमा पर्यटक गाईडको पनि आवश्यकता साथसाथै हुँदै गईरहेको हो । सन् १९५३ मा सगरमाथा आरोहण अभियानको बन्दोबस्तीका समानहरु लिएर काठमाण्डौदेखि हिडेको जम्बो टोलीको सरदारको रुपमा तेजिङ्ग नोर्गे शेर्पाले काम गरेको देखिन्छ । नेपालको पर्यटन विकासको सुरुवाती दिनमा नेपालमा दक्ष जनशक्तिको अभावमा स्वयं विदेशीलेनै गाईडको रुपमा काम गरिरहेको देखिन्छ । सन् १९७२ मा हालको पर्यटन तथा होटल ब्यवस्थापन तालिम प्रतिष्ठानको स्थापना भए देखि यस संस्थाले टुरिष्ट तथा टेकिङ्ग गाईडको लागि निरन्तर तालिम प्रदान गदै आईरहेको छ । हाल सम्म यहाँबाट पर्यटक गाईड तथा करिब छ हजार र टेकिङ्ग गाईड तर्फ करिब सत्र हजार जनालाई तालिम प्रदान गरेको देखिन्छ भने अहिले टान तथा एनएमए जस्ता संस्थाहरुले पनि टेकिङ्ग गाईड तथा माउन्टेन गाईडको आवश्यक तालिम सञ्चालन गर्दै आईरहेको पाईन्छ ।

एक जना गाईडमा विदेशी भाषाको ज्ञान हुनु (सामान्यतयः अंग्रेजी) न्यूनतम आवश्यकता भएपनि कामको प्रकृति र पर्यटकको आवश्यकता अनुसार व्यवसायीक दक्षता र अतिरिक्त भाषिक ज्ञान हुनु जरुरत छ । एक जना टुरिष्ट गाईडले निर्जीव रुपमा ठडिएर रहेका हाम्रा प्राचिन मठ–मन्दिर, प्राचिन स्मारकहरुको सजिव तस्विर उतार गर्न अर्थात प्राण भर्न सक्नु पर्दछ । हाम्रा धर्म, रितीरिवाज, परम्परा र भेष, भूषाको यथार्थपरक र तर्कसंगत वाख्या र विष्लेषण गर्न सक्नु पर्दछ । समसामयिक राजनैतिक, आर्थिक, सामाजिक परिवेशको तथ्यपरक र तटस्थ जानकारी गराउन सक्नु पर्दछ । पर्यटन एउटा सृजनाको उपज पनि भएकोले प्रत्येक वस्तु तथा पर्यटकीय स्थलमा आफ्नो कला भर्न सक्नु पर्दछ । यसको लागि विषेश भाषिक ज्ञान र निरन्तर अध्ययन पहिलो आवश्यकता बन्दछ । पर्यटकको ब्यक्तिगत इच्छा र चाहना प्रमुख कुरा हुने भएकोले गाईडले उनीहरुको रुचि र मनेभावमा खेल्न सक्नु पर्ने हुन्छ । टे«किङ्ग गाईडको हकमा आफूपुग्ने क्षेत्रको पुरा भौगोलिक जानकारी, हावापानी, मौसमी तथा नेभिगेसन सम्बन्धि ज्ञान, स्थानीय धर्म, रितिरिवाज र आर्थिक तथा साामाजिक पाटोका आधारभूत जानकारी दिन सक्नु पर्दछ । माउन्टेन गाईड र रिभर गाईडको सवालमा सम्बन्धित पेशाको तालिम र अनुभव पहिलो शर्त हुने गर्दछ भने प्राथमिक उपचार तथा सामान्य खोज तथा उद्धारको ज्ञान सबै गाईडको लागि अनिवार्य विषयनै हो । 

नेपालमा आउने विविध खालका पर्यटक फरक–फरक उदेश्य लिएर आउने गर्दछन । सामान्य हैसियत राख्ने र जेनतेन खर्चको जोहो गरेर जीवनमा एकपटक विदेश भर्मणमा निस्केका देखि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त नेता, कलाकार, खेलाडि, ठूला–ठूला ब्यवसायीक घरानाका मालिक साथै नेपालको कला, संस्कृति, रीतिरिवाज, जीवनशैली ,चराचुरुङ्गी , वन्यजन्तु र वातावरणको गहन अध्ययन तथा अनुसन्धान गर्ने अनुसन्धान कर्ता समेत सहभागि रहने भएकोले सबैको उचित सम्मान र अतिथी देवोभवःको भाव प्रत्येक गाईडको मुलमन्त्र बन्न सक्नु पर्दछ । एक जना गाईड पर्यटकको एक मार्गनिर्देशक मात्र होईन उ एउटा समग्र देशलाई चियाउने ऑखि झ्याल समेत हो । साधारणतयः नेपालमा पहिलो पटक भ्रर्मणगर्ने पर्यटकलाई उसले जसरी चिनाउन खोज्यो त्यस्तै खालको छाप बोकेर फर्कन्छ तसर्थः नेपाललाई समग्रमा चिनाउन सक्ने र यथार्थमा बुझउन सक्ने गुण एक जना गाईडमा हुनु जरुरत छ । गाईडमा एक सफल ब्यवस्थापकीय गुण रहनु पनि जरुरत छ जसबाट पर्यटकको भ्रमणलाई सफल र स्मरणीय बनाउनमा उसको ब्यवस्थापकीय क्षमताको महत्वपुर्ण भुमिका रहने गर्दछ  । गाईड पर्यटकको संरक्षक र अभिभावक पनि हो जसले घर छाडेर भ्रमणको लागि हिडेको एक नागरिकको अभिभावकत्व ग्रहणगर्न सक्र्नु पर्दछ । एक जना गाईड सफल नेता पनि हो जसले भैपरी आउने समस्यालाई सफलापुर्वक निकास दिन सक्नु पर्दछ । अझ पदयात्रा तथा पर्वतारोहणको हकमा त एक जना गाईडले आफ्नो ब्यवस्थापकीय र नेत्रीत्वदायी भूमिका अझ सबल बनाउनु पर्ने हुन्छ ताकी ऊ एक जना पर्यटकको मात्र नभएर समग्र टोलिको प्रमुख समेत बनेको हुन्छ । 

यो पेशामा लागेका ब्यक्तिहरुबाट उचित परिश्रमिक पाउन नसकेको, सेवा र सुविधामा एकरुपता नभएको, सिजनल काम भएकोले पेशामा टिकीरहन गाह्रो भएको, सामाजिक सुरक्षाको ब्यवस्था नभएको आदि जस्ता थप्रुै गुनासाहरु बेला बखत सुनिने गरेपनि समग्रमा यो पेशा अपनाएका ब्यक्तिहरुको आर्थिक तथा सामाजिक हैसियत राम्रै अवस्थामा भएको देखिन्छ भने  धेरै जनाको ब्यवसायिक रुपान्तरण समेत भईसकेको पनि पाईन्छ । विदेशमा उनीहरुको ब्यक्तिगत सम्बन्ध बढ्दै जाने भएको कारण युरोप, अमेरीका जस्ता पश्चिमा देशमा पनि सहज पहुँच स्थापित गरेको देखिन्छ, जुन यस पेशाको सकरात्मक पाटो मान्नु पर्दछ । 

गाईड भर्मण अवधिभर पर्यटक सँग संगै रहने अवसर मिल्ने अनि उसको सुख, दूखमा पनि सहयोगी रहने भएकोले सामान्यतय गाईड प्रति प्रर्यटकको विश्वास हुनुको साथै ब्यक्तिगत सम्बन्ध समेत स्थापित भएको हुन्छ । नेपालमा आउने पर्यटकको एउटा विशेषता एक पटक नेपाल आएको पर्यटक पटक–पटक भ्रमणमा आउने गरेका पाईन्छ । गाईडले पर्यटकलाई नेपालका विविध पर्यटकीय स्थलको राम्रो जानकारी दिन सकेमा उनीहरुको बसाई अवधि र भ्रमण दर पनि अझ बढ्न सक्छ । सरकार तथा सम्बन्धित संघ सस्थाहरुले उनीहरुको भूमिकालाई प्रभावकारी उपयोग गर्ने नीति अंगिकार गर्न सके पर्यटन प्रवद्र्धनमा समेत उपयोगी हुन सक्छ । निश्चित मापदण्ड बनाई पर्यटन ब्यवसायीहरुको समेत समन्वयमा उनीहरुलाई हामी पर्यटक ब्राण्ड एम्बेस्डरको भूमीका दिन सक्छौं । सन् २०२० लाई  नेपाल भ्रमण वर्ष घोषणा गरि बीस लाख पर्यटक भित्र्याउने लक्ष्य सहीत अगाडि बढिरहेको वर्तमान परिपेक्षमा उनीरुको यथोचित उपयोग गरि अगाडि बढाउन सके पक्कै पनि हाम्रो लक्ष्य प्राप्तिमा सहयोग मिल्ने छ । 

एकातिर यस पेशालाई मर्यादित र ब्यवस्थित नगरिकन पर्यटक क्षेत्रको विकास संभव छैन भने अर्को तिर शिक्षित युवाहरु बेरोजगार र विदेश पलायन भईरहेको वर्तमान अवस्थामा यो पेशा रोजगारको  एउटा राम्रो विकल्प हुन सक्छ । यदा कदा सुनिने गरेका पर्यटक ठगी तथा कमिसनका चक्कर आदि जस्ता घृणित कार्यबाट यो पेशालाई टाढै राखी गाईडहरुले आफ्नो पेशागत मर्यादाको सम्मान गर्न सक्नु पर्दछ भने अनीहरुले आफ्नो दरिद्रता प्रर्दशन गरेर होईन आफ्नो क्षमता प्रर्दशन गरेर पर्यटकलाई खुसी राख्न सक्नु पर्दछ । उनीहरुले आफ्नो सधै सहयोगि भावनाका साथ आफ्नो आत्मसम्मान र राष्ट्रिय स्वाभिमान उचो राख्ने कला सिक्नु पर्दछ । सरकारले पनि समसामयिक रुपमा आफ्ना नीति नियमहरु नियमीत रुपमा परिमार्जन गदै सबै खालका जनशक्तिलाई आकर्षित गर्ने वातावरण तयार गरिनु पर्दछ । अबको दिनमा यो पेशालाई आकर्षक बनाउन अहिले प्रदान  गरिरहेको तालिमलाई अझ प्रभावकारी बनाउदै हाम्रा माउन्टेन गाईडहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत गएर काम गर्न, तालिम दिन सक्ने गरि तालिम तथा पाठ्यक्रमको ब्यवस्था गरिनु पर्दछ ताकी सिजनल पर्यटनको मारमा परेका हाम्रा माउन्टेन गाईडहरु विदेशमा समेत गएर गाईड काम गर्ने अवसर पाउन । उचित तालिम सहित अन्तर्राष्ट्रिय मान्यता पाएमा हिमालयन पर्वतमालामा पोख्त र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त हाम्रा पर्वतीय गाईड तथा आरोहिहरुको पक्कै पनि अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा ठूलो माग रहने छ र उनीहरुले पनि नेपालको पर्यटन प्रवद्धनमा ठूलो भूमिका खेख्न सक्ने छन् यसबाट पनि अबको समृद्ध नेपाल सुखी नेपाली नाराको ब्यवहारिक कार्यन्वयन गर्न सहयोग मिल्ने छ ।
                                       

 

तपाईंको बिचार