Thursday, November 14, 2019

गाउँसहर अन्तर सम्बन्धको विकास, समृद्धिको नयाँ निकास

डोर बहादुर के.सी
प्रकाशित मिति: 2019/08/21

गुल्मीको पश्चिम भेगको एउटा गाउँ बाँझकटेरी राजधानी देखि निकै टाढा छ तर त्यहाँका जनप्रतिनिधी र त्यहाँबाट आफ्नो पेशा व्यपसायको लागि राजधानी बसोवास गर्ने एउटा समुदाय बीचको अन्तरसम्बन्धले त्यो गाउँ अहिले निकै नजिकको आभास भईरहेको छ ।  अहिले उनीहरु एक आपसमा निरन्तर संवादमा रहन्छन् । गाउँमा अहिले के उत्पादन भइरहेको छ ? के कति मात्रामा सहर पठाउन सकिन्छ ? आदि । त्यहाँका वडा अध्यक्ष स्वंयमले आफ्नो नियमित कामको अतिरिक्त किसान र उपभोक्ता बीचको सेतुको काम गरिरहेका छन् । स्थानीय सरकारले त्यहाँका कृषकलाई उत्पादनमा आधारित अनुदान दिएर तरकारीको उत्पादन बढाएपछि बजारको खोजि भएको रहेछ । अहिले उनलाई सहरबाट आएको तरकारीको माग धान्नै धौ धौ परिरहेको छ । गाउँमा हुने स्थानीय कृषि उपजको उपयोग र खपतको विषय अहिले समस्याको विषय रहेन । सामान पठाएको भोलि बिहानै उपभोक्ताको  घरघरमा ताजा समान र किसानको हात हातमा पैसा पुगिसकेको हुन्छ ।  सहरदेखि टाढा भए पनि सडक र समाजिक संजालको उपयोगबाट यो विषय सहज भएको हो  । जेैविक प्रविधीबाट उत्पादन हुने त्यहाँको कृषि उत्पादनले अहिले त्यहाँबाट सहरमा  बसोवास गर्ने ठूलै समुदायको भान्सा चलिरहेको छ ।

यसको सफलताबाट आगामी दिनमा उनीहरु गाउँमा होमस्टे सहितको अर्गानिक कृषि फारमको विकास गरी त्यसलाई पर्यटन सँग अन्तर सम्बन्धित बनाउने नयाँ सोचमा छन् । सहरी वातावरणमा मात्र हुर्केका आफ्ना बालबच्चाहरु, तथा पाहुनहरुलाई  बेला बेलामा गाउँ लिएर जाने र स्थानीय उपजको उपयोग गदै होमस्टेमा रमाउन सक्ने वातावरणको खोजिमा छन् । हाल सम्म घरायसी उपयोगको लागि मात्र प्रयोगमा आएको त्यहाँको कृषि उपजले आम्दानी गर्न लाग्दा एकातिर त्यहाँका कृषकहरु थप उत्साहित भएका छन् भने अर्कोे तिर आफ्नै गाउँठाउँमा फलेको जैविक कृषि उपजको प्रयोग गर्न पाउँदा उपभोक्ताहरुमा नयाँ आत्मविश्वास पलाएको देखिन्छ । यतिमा मात्र सिमित नभएर यसले गाउँ र सहरको अन्तर सम्बन्धलाई एउटा नयाँ उचाईमा पुर्याई दिएको छ ।

उल्लेखित सत्यमा आधारित एउटा  गाउँको कथा लेखकको नजरमा परेको प्रतिनिधी उदाहरण मात्र हो । गाउँनै गाउँले भरिएको नेपालका प्रत्येक गाउँलाई अहिले सहर सँग प्रत्यक्ष अन्तर सम्बन्धित तुल्याएर दोहोरो लाभ प्राप्त गर्न सकिने अवस्था छ । संघीयताको कार्यन्वयनबाट स्थानीय सरकारहरु क्रियाशील भएको वर्तमान अवस्थामा स्थानीय आवश्यकता हेरी उत्पादन तथा बजार व्यवस्थापनको लागि यो विधि एउटा राम्रो उदाहरण बन्न सक्छ । कम्तिमा पनि आफ्नो गाउँको उत्पादनले त्यो गाउँबाट सहरमा बस्नेकोमात्र आवश्यकता पुरा भईदिए पनि एउटा ठूलै उपलब्धि मान्नु पर्ने हुन्छ । यसले परनिर्भरतालाई घटाउन सहयोग मिल्छ । उत्पादक र उपभोक्ता विचको सिधा सम्र्पकले बिचौलियाहरु मोटाउने र वास्तविक किसानले उत्पादनको मूल्य नपाउने वर्तमान  परिपाटीलाई यसले निरुत्साहित गदै लैजाने पनि सुनिश्चित छ । विश्व व्यापिकरण र खुला अर्थन्तन्त्रको अहिलेको परिदृश्यमा नाका नाकामा घाट तेर्साएर राष्ट्रिय तरङ्ग सृजना गर्नु भन्दा कृषकलाई उत्पादनमा प्रोत्साहीत गर्ने बातवारण तयार गर्ने र त्यसको बजार ब्यस्थापनको जिम्मा राज्य संरचनाले लिन सकेमा कृषक र उपभोक्ता दुवैलाई लाभ हुने देखिन्छ । 

मासिक प्रन्ध बीस हजार परिश्रमीकको लागि घर परिवार छाडेर खाडि मुलुकमा ज्यानको बाजि मोल्ने हरुको लागि कृषिको उचित ब्यवस्थापनबाट युवा पलायन रोकिने निश्चित छ । यसबाट हाल समाजमा बढ्दै गईरहेका हिंसा, हत्या र पारिवारीक विखण्डन पनि कम हुने विश्वास गर्न सकिन्छ । राम्रो अवसर, राम्रो रोजगारी तथा व्यपार ब्यवसायको लागि गाउँबाट सहर पस्नु नियमीत प्रकृया भए पनि जुन वर्ग देशमा श्रम गरेर बस्न चाहदा चाहदै पनि न्यूनतम आफ्ना दैनिक आधारभूत आवश्यकता पुरा गर्न विदेश जान बाध्य छन् त्यो वर्गलाई राज्यले विकल्प दिन सक्नु पर्दछ । राज्यले कृषिमा केही सहजिकरण र बजार व्यवस्थापनमा  अलिकति ध्यान दिन सकेको खण्डमा पनि यस्ता खालका युवाहरुको विदेश पलायन रोकिने छ र दिन दिन बाझो बन्दै गईरहेका जमिनको उचित संरक्षण र उपयोग हुने छ । कृषि प्रधान देश भनेर भनिए पनि हाम्रो दैनिक उपभोग्य समाग्रीमा विदेशी उपजको प्रयोग बढ्दो छ । यसले एकातिर हाम्रो स्वस्थमा प्रतिकूल असर परिरहेको कुरा त छदै छ अर्को तर्फ हाम्रो ब्यपार घाटाको दर पनि दिन प्रतिदिन बढि रहेको छ ।

फगत कृृिषले मात्र पनि कृषकको गुणात्मक फड्को मार्न सहज नहुन सक्छ । कृषिलाई पर्यटन सँग आवद्ध गरेर अगाडि बढ्न सकिन्छ । गाउँँगाउँमा विभिन्न अर्गानिक कृषि फारम र होमस्टेकोे विकास गरी उत्पादनदेखि उपभोगसम्म स्वदेशी तथा विदेशी पर्यटकलाई सरिक बनाउदै दोहोरो लाभ लिन सकिन्छ । भोलिको दिनमा यसको उचित विकासबाट यस्ता गाउँवस्तिहरु विदा मनाउने उपयुक्त स्थलहरु बन्न सक्छन् । हाम्रा स्कूल कलेजका प्याकेजहरुमा ती गाउँवस्तिको बसाई पर्न सक्छन् । हाम्रा अफिसका साना बैठक सेमीनारहरु ती गाउँवस्तिमा पार्न सक्र्नु पर्दछ । हाम्रा कर्मचारीलाई दिईने पे लिभ व्यवस्था ती गाउँ र वस्तिमा पार्न सकिन्छ । विदेशमा विभिन्न वाहानामा हुने भ्रमण शिर्षको लाखौं रकमको सदुपयोग यी गाउँवस्तिको भ्रमणमा खर्चिने वातावरण राज्यले तयार गर्न सक्नु पर्दछ ।

अन्त्यमा, गाउँ सहरको अन्तर सम्बन्धले हाम्रा गाउँ वस्तिहरुलाई पुर्नजीवन दिन सकिने छ । हाम्रा सहरमा चाहिने दैनिक उपभोग्प वस्तुको सहज आपुर्ती दिलाउन सकिने छ । हाम्रो दिन दिन बढ्दै गइरहेको परनिर्भरताको अन्त्य गर्न सकिने छ । स्थानीय स्तरमानै रोजगारीको सृजना गर्न सकिने भएकोले नयाँ नेपाल निर्माण र समृद्धिको यात्रामा यसले नयाँ निकास दिन सक्छ । यसको लागि हाम्रा तीनै तहका सरकारको इच्छा शक्ति र तत्परताको भने खॉचो छ । जे होस् हाम्रा आफ्नै गाउँका जैविक कृर्षि उपजको खपत बढाउने, हाम्रा गाउँ र सहरको सम्बन्धलाई दिगो बनाउने, जनप्रतिनिधी र जनताको सम्बन्ध दिगो बनाउने, आयतलाई प्रतिस्थापन गर्ने, विषादियुक्त कृषि उपजलाई विस्थापित गदै जाने यो एउटा उत्तम विकल्प अनि अहिलेको राष्ट्रिय आवश्यकता समेत हो र यो एउटा असली राष्ट्रवाद पनि यहि हो ।

 

 

तपाईंको बिचार